थाइ–नेपाली संघ थाइल्याण्डको प्रतिनिधि मण्डलले नेपाल सरकारसँग आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन माग गरेको छ ।

थाइ नेपाली संघका संरक्षक कुमार कार्कीको नेतृत्वमा थाइ नेपाल संघकी अध्यक्ष वासना राई लगायतका प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोल, राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख शंकर बैरागी लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर उक्त माग राखेका हुन ।

आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन थाइ–नेपाली संघको माग

उनीहरुले भेटमा आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन माग राख्दै लामो समयदेखि प्रवासमा बस्दै आएका थाइल्याण्ड, म्यान्मार (बर्मा), मलेशिया, फिजी आदि देशमा बसोवास गर्ने नेपालीहरुको समस्याको बारेमा अवगत गराएका थिए ।

उक्त देशहरुमा बसोवास गर्ने नेपालीहरुको नागरिकता प्रमाणपत्रमा कसैकोमा नेपाल, कसैकोमा गोरखा उल्लेख गरिएको उनीहरुको भनाई छ । आफ्ना पूर्खाहरु नेपालबाट दोस्रो विश्वयुद्ध ताका लडाँईंका लागि म्यानमार गएकोमा संचार माध्यमको अभावको कारणले गर्दा उतै छाडिन बिवस नेपालीका सन्तानहरुको पहिचान संकटमा परेको उनीहरुको भनाई छ ।

आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन थाइ–नेपाली संघको माग

आफ्नो परिचय खुल्ने कागजपत्र नभएको कारण हाल नेपाल सरकारले प्रदान गर्न खोजिरहेको एन्आरएन नागरिकता प्रमाणपत्रबाटसमेत आफूहरु बञ्चित हुनुपरेको दुखेसो पोख्दै उनीहरुले नेपाल सरकारका प्रतिनिधीहरुलाई यो समस्या समाधानका लागि उचित पहल गरिदिन मागपत्र पनि पेश गरेका छन ।उक्त मागपत्रमा आफ्ना पूर्खाहरु नेपालबाटै गएको, आफ्नो पितृ भूमिको भाषा, धर्म, संस्कृतिलाई आफूहरुले जोगाइराखेको र अब उप्रान्त उनीहरुको यो समस्यालाई सम्बोधन गर्न नसक्ने हो भने भोलिका आफ्ना सन्ततीहरु नेपाली पहिचान खुल्ने बाटो बन्द हुने र उनीहरुको पूर्खा नेपाली हुनुको अस्तित्व पनि समाप्त हुनसक्ने डरलाग्दो परिस्थिति आउन सक्ने उल्लेख गरिएको छ ।

आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन थाइ–नेपाली संघको माग

भेटका अवसरमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसमा केही कानूनी समस्याहरु भएपनि यसको समाधानका लागि आफूले पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले यस मागको सम्बोधनका लागि आफूले विभिन्न निकायहरुमार्फत पहल गर्ने र संसदमा पनि यो विषय उठाउने बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतले यो समस्या समाधानका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने कुरा व्यक्त गरे ।

आफुहरु नेपाली भएको पहिचान खुल्ने कागजातको व्यवस्था गरिदिन थाइ–नेपाली संघको माग

उक्त भेटका अवसरमा थाइ-नेपाली संघका संरक्षक कुमार कार्की, अध्यक्ष वासना राई, महासचिव दीपक पराजुली, निरीक्षक सोम भुषाल, सांस्कृतिक विभाग प्रमुख राज कर्माचार्य, एन्आरएन् थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत लगायत अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका केन्द्रीय साँस्कृतिक विभाग प्रमुख भिम पाण्डे सहितका व्यक्तित्वहरुले आ-आफ्नो विचार राखेका थिए ।

इन्थ्रा फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको मेरो डान्स युनिभर्सको ग्रान्ड फिनालेमा सहभागिता जनाउनका लागि थाइ–नेपाली संघका ५० जना भन्दा बढीको प्रतिनिधि मण्डल नेपाल आएका थिए । उक्त फिनालेमा थाइल्याण्डमा जन्मिएकी नेपाली मूलकी खुशी कार्कीले मेरो डान्स युनिभर्सको टाइटल जितेकी थिइन् ।