नेपाली व्यवसायी संघ कतारले उपप्रधानमन्त्री श्रेष्ठलाई स्वागत गर्दै भन्यो–झण्झटिलो कानूनी प्रकृया हटाऔं

news-details

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतारमा पुगेको अवसरमा नेपाली व्यवसायी संघ कतारले स्वागत तथा सम्मान कार्यक्रम गर्दै नेपालमा भएका झण्झटिला नीति नियमहरुले स्वदेशी तथा विदेशी लगानीकर्तामा समस्या थपिएको बताएको छ ।

नेपाल सरकारकातर्फबाट संयुक्त राष्ट्र संघको अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिनका कतारको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईसहितको कार्यसमितिले मायाको चिनोसहित सम्मान गरेका थिए ।

नेपाली राजदूत डा.नरेशबिक्रम ढकालसहित नेपाली व्यवसायी संघका पदाधिकारीहरु उपस्थित रहेको स्वागत तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष चौलागाईले नेपालको झण्झटिलो कानूनी प्रकृयाका कारण नेपाली व्यवसायी तथा कामदारले ठूलो अवसर गुमाइरहेको बताए ।

कार्यक्रममा अध्यक्ष चौलागाईले भने–‘ नेपाली राजदूतावास कतारबाट कामदारको मागपत्र प्रमाणिकरण गर्न लाग्ने लामो एवं झन्जटिलो कानूनी प्रक्रियाका कारण कतारमा रोजगारीका अवसर खोज्ने धेरै दक्ष नेपाली पेशाकर्मीलाई समस्या परेको छ, यसले गर्दा दक्ष नेपाली कामदारहरुले उत्कृष्ट रोजगारीका अवसरहरू गुमाएका छन् साथ साथै कतारमा रहेका धेरै उत्कृष्ट कम्पनीहरुले पनि नेपालबाट नभै अन्य राष्ट्रहरुबाट कामदारहरु ल्याउने गरेका छन् ।’

अध्यक्ष चौलागाईले उपप्रधानमन्त्री समक्ष भने–‘ नेपाली राजदूतावास कतारबाट कामदारको माग पत्र प्रमाणिकरण प्रक्रियालाई छिटो छरितो एवं दक्ष कामदारहरुका लागि सजिलो प्रकृतिको श्रम कानुन निर्माण भएमा नेपाली कामदारहरूलाई मात्र नभई कतारका व्यवसायीहरूलाई पनि फाइदा पुग्नेछ ।’

नेपाल सरकारले कतारमा रहेका नेपाली व्यवसायी समुदायलाई प्रदान गरेको अटल सहयोग र प्रोत्साहनप्रति नेपाली व्यवसायी संघ कतार कृतज्ञ रहेको अध्यक्ष चौलागाईको भनाई थियो । ‘उपप्रधानमन्त्रीसहित सरकारी पदाधिकारीको कतार भ्रमणले हाम्रा दुई देशबीचका सम्बन्धलाई अझ प्रगाढ बनाउन र आर्थिक सहयोग र लगानीका अवसरहरू बढाउन मार्ग प्रशस्त गर्ने विश्वास लिएको छु’ अध्यक्ष चौलागाईले उपप्रधानमन्त्री श्रेष्ठ समक्ष बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली व्यवसायी संघ कतारले खेलेको भूमिकाको प्रसंसा गर्दै कतारमा रहेका नेपाली व्यवसायीहरु संगठित भएकोमा खुशी व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र कतारबीच ट्रेड तथा व्यापार विस्तारमा संघले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै अहिलेको अवस्थामा नेपालमा पनि लगानी भित्र्याउन अनुरोध गरे ।

विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सको महत्वका बारेमा उल्लेख गर्दै श्रेष्ठले भने–‘ नेपालको आर्थिक विकासमा तपाईहरुको सहयोग आवश्यक पर्छ त्यसका लागि केही भएका समस्यालाई सरकारले अवश्य संवोधन गर्नेछ ।’

संघका उपाध्यक्ष सागर नेपालले स्वागत गर्दै संघले गरेका र गरिरहेका गतिविधि तथा भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संघकातर्फबाट एनआरएनएका उपाध्यक्षसमेत रहेका आरके शर्मा, राज रेग्मी, रमेश भट्ट, पुर्ण पोखरिया, सुनिल घिमिरे, दुर्गा थापा, मोहम्मद मुक्तदा मुसलमान, युवराज शर्मा, प्रोफेसर रम्जान अलि मियालगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *