विश्वकप फुटवल कतार : नेपालीले पाएको अवसर

news-details

सन् १९९५ मा कतार छिरेका स्याङजाका गुरुनारायण रानाभाट सन् २०१० मा नै स्वदेश फर्कन चाहन्थे । तर, कतारले सन् २०२२ मा फिफा विश्वकप फुटबल खेलाउने भएपछि आफ्नो कर्मभूमीमा विश्वकप हेरेर नै फर्कने सोच उनमा पलायो । कतारमा २७ बर्षदेखि कार्यरत सबैभन्दा पुरानो नेपालीमध्ये उनी एक हुन् । ‘हिजो भर्खरै कतार आएजस्तो लाग्छ, कतारमा नै बुढो पो भइयो’ उनी भन्छन् –‘फर्कन्छु भन्दा भन्दै २७ बर्ष बितिसकेछ, अब त विश्वकप फुटबल पनि सकियो, कतार बसाई पनि पुग्यो, अब चै पक्कै फर्कन्छु ।’

रानाभाटले २७ बर्षमा कतारमा चामत्कारिक परिवर्तन देखे । ‘हामी आउँदा गगनचुम्बी भवन नै देखिदैन थिए, स्याल कराउने ठाउँमा अहिले चिन्न नसकिने टावर ठडिएका छन्’ रानाभाट भन्छन् –‘विकास कसरी र कति छिटो हुन्छ भन्ने उदाहरण मेरै आँखा अगाडि कतारले देखाइदियो ।’

खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा विश्वकप फुटबल हेरेका रानाभाटलाई खेलभन्दा पनि विश्वभरबाट आएका फुटवलप्रेमीहरुको रौनकताले बढि तान्यो । ‘स्टेडियममा छिर्नुभन्दा पहिला र निस्कदाको भीड अनि विभिन्न प्रकारका आकर्षण हेर्न लायक थियो’ रानाभाट भन्छन् –‘आफ्नै कर्मभूमीमा विश्वकप फुटवल हेर्न पाउँदा म मात्र होइन हजारौ नेपाली खुशी भए ।’

चितवनका प्रताप ढुंगाना कतारमा विश्वकप फुटबल खेलाउने घोेषणा हुँदादेखि नै उत्सुक थिए । कतारको प्रख्यात कन्ट्रक्शन कम्पनीमा लेखाको काम गर्ने ढुंगानालाई कतारको विकास नजिकबाट थाहा छ । ‘कतारले १० बर्षभित्रमा नै विकास निमार्णको काम तीब्ररुपमा गरेको हो’ ढुंगाना भन्छन् –‘नाकाबन्दी/कोरोनाको बाबजुत पनि कतारले विश्वलाई चकित बनाउदै विश्वकप खेलाएकोमा सबैभन्दा खुशी हामी नेपाली भएका छौ र धेरै नेपालीले प्रत्यक्ष खेल हेर्ने अवसर पनि पायौ ।’

कतारमा भएको विश्वकप हेर्नका लागि नेपालका खेलप्रेमी मात्र होइनन नेता, कलाकार, पत्रकार, व्यवसायी, डाक्टर, सरकारी निकायका कर्मचारीलगायत सयौको संख्यामा नेपाली कतार पुगेका थिए ।

भक्तपुर–२ बाट प्रतिनिधिसभा चुनाव हारेका एमाले नेता महेश बस्नेत अर्जेटिनाको खेल हेर्न जर्सी लगाएर स्टेडियम छिरे । उनी सेमीफाइनलको खेल हेरेर कतारमा कार्यरत नेपालीहरु भेटेर स्वदेश फर्किए ।

नेता मात्र होइनन् लोक गायक बद्री पंगेनी विश्वकप फुटवल हेर्न कतार पुगे । नेपालको झण्डा ओडेर स्टेडिम छिर्दा पंगेनीलाई आफ्नो ठूलो सपना पुरा भए झै लाग्यो । ‘सँधै टेलिभिजनको पर्दामा फुटवल हेरिन्थ्यो, विश्वकपजस्तो खेल प्रत्यक्ष हेर्न पाउँदा म त खुशीले गद्गद् भएँ’ गायक पंगेनीले भने –‘अन्य देशमा विश्वकप हुँदा नेपालीहरु त्यहाँ पुग्न र हेर्न नै असम्भव हुन्थ्यो, कतारमा नै हुँदा हामीले सजिलै हेर्न पाइयो ।’ दुई खेल प्रत्यक्ष र केही फ्यान जोनमा हेरेर फर्किएका पंगेनी पनि कतारले विश्वकप आयोजना गरेकाले धेरै नेपालीले खेल हेर्न पाएकोमा मख्ख थिए ।

विश्वकपमा कतारमा नै कार्यरत नेपाली मात्र होइन नेपालबाट गएका ३ सयका हाराहारी नेपालीले निःशुल्क स्वयमसेवकको काम गर्ने अवसर पनि पाए । एनआरएनए कतारका महासचिव पदम गिरीले पनि स्वयमसेवकको जिम्मेवारी पाएका थिए । उनले भने –‘हामी कतिले निःशुल्क स्वयमसेवकको काम गर्यौ भने कतिले सशुल्क पनि यो अवसर पाएका थिए, विश्वकपमा काम गर्न पाउँदा धेरै भाग्यमानी महशुस भयो ।’

विश्वकप कुम्भमेलाले गर्दा कतारमा एक महिनाभरि नै रौनकता थपिएको थियो । कतार बेहुली झै सिंगारिएको थियो । मेट्रो, बस, सार्वजनिक स्थल, मलहरूको माहोल र बच्चादेखि बुढासम्म सवैलाई विश्वकपले छोएको थियो । विभिन्न पार्क तथा खेलमैदान संगीतमय तथा रमाइलोले भरिएको थियो । कतारस्थित आप्रावासी समुदायहरुले आआफ्नो देशका बिभिन्न किसिमका सांस्कृतिक झांकी तथा नृत्य देखाइ रहेको पाइन्थ्यो । विभिन्न देशका सांस्कृतिक झांकीहरु, अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुको सँयुक्त प्रस्तुतीले कतार गुन्जयमान भएको थियो । सडकमा हिडेको यात्री होस या पार्कमा घुम्ने वा जहाज तथा बोटमा समुन्द्रमा घुम्नेहरु किन नहुन संगीतको तालमा झुमेका थिए । हरेक साँझ ९ बजेको समयमा कर्निसमा गरिने आतिसबाजीको रौनक झन मनमोहक लाग्थ्यो । कतारी नागरिक हुन या पर्यटक वा आप्रावासी कामदार सवैलाई विश्वकप कुम्भमेलाले मन्त्रमुग्द पा¥यो ।

कतारमा स्वतन्त्ररुपले निर्धक्कका साथ चौविसै घण्टा मानिसहरुको चहलपहल देखिन्थ्यो । आफ्नो मनपरेको देशका टिमका टिसर्टदेखि विभिन्न स्टाइलका टोपी लगाएका खेलप्रेमीहरु कतारभरि चहलपहल गरिरहेका थिए । आफ्नो–आफ्नो मनपर्ने खेलाडीहरुको जर्सी लगाउनेहरु खेल मैदानमा होस या फ्यान जोनहरुमा होस हुटिङ गर्दै रमाइरहेका थिए । अझ रेल स्टेशनमा रमाइलो गर्दै हिड्नेको भीडले छुट्टै अनुभूति दिलाउँथ्यो । प्याराफिटबाट दर्शकहरुको इक्साइडमेन्ट, आफ्ना–आफ्ना टिमको समर्थनमा हुटिङ, थरिथरिका आवाज निकाल्ने बिभिन्न डिजाइनका स्टिकर र मालाहरु पहिरिनु एवं सुरक्षाकर्मी तथा स्वयमसेवकले सहजिकरण गरेको दृश्य नजिकवाट नियाल्दा सबैलाई रोमाञ्चित अनुभब भएको थियो ।

कतारले सन् २००६ को एसियन खेलकुद सफलताको साथ सम्पन्न गरेपछि नै निकै उत्साहित हुँदै विश्वकप आयोजनाको लागि पहल गरेको थियो । सन २०१० मा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्दा कतारसँग एक मात्र खलिफा स्टेडियम थियो । तर इच्छाशक्ति र दृढ आत्मविश्वाससहित तन, मन र धनले लागि परेमा जस्तो सुकै कठिन कार्यलाई पनि सहज बनाउन सकिन्छ भन्ने उदाहरण कतारले प्रस्तुत गर्न सकेको छ । विश्वकप आयोजनाको लागि कतारले १२ बर्षमा ७ वटा नयाँ अत्याधुनिक स्टेडियम मात्रै बनाएन चालकरहित रेल सेवा संचालन, नयाँ अत्याधुनिक हमाद अन्तर्राष्ट्रिय बिमानस्थल तथा कतारका सडकहरुको बिस्तार र बिकास ग¥यो ।

कतारमा लामो समयदेखि कार्यरत विमल सुवेदी भन्छन् –‘कतारले सबैलाई देखाइदियोकी देशको अवस्था परिवर्तन गर्ने इच्छाशक्ति भयो भने समृद्धीको लागि लामो समय पर्खनु पर्दैन । विश्व जगतलाई कतारको वर्तमान प्रगति एक उदाहरण नै हो ।’

यद्दपी सहजरुपमा यो समय कतारले कार्य गर्ने अवसर पाएको भने थिएन । छिमेकी देशबाट कतारले यही समयमा एकै पटक जल, जमिन र आकाशको नाकावन्दी भोगेको थियो । उता यही समय विश्वभरी सन्त्रास फैलाउने कोरोना कहरले सवैलाई कायल बनाएको बेलामा पनि कतारले हिम्मत नहारी आफ्नो लक्षित उद्देश्य हासिल गर्न सफल भएको छ ।

कतारले खेलकुदमार्फत राष्ट्रको बिकास निर्माणमा झन्डै तीन दशक लामो श्रम प्रकृयाबाट निकै ठुलो उपलब्धी हाँसिल गरेको छ । यही उपलब्धिको प्रमाण कतार विश्वकप फुटवल एक्लै आयोजना गर्ने पहिलो एसियाली मुलुक बन्यो । विश्वकप फुटबलको २२ औ संस्करण सभ्य र भब्यरुपमा सुसम्पन्न गरेर कतारले विश्वमाझ आफुलाई स्थापित गरेको छ ।

विश्वकप आयोजनाको अधिकार प्राप्तीपछि कतारले धेरै आलोचना पनि खेप्नु प¥यो । कतारमा कार्यरत श्रमिकको श्रम शोषण र अधिकार हनन्को विषयले निकै चर्चा पायो । अझ कतारमा धेरै श्रमिकले ज्यान गुमाएको भन्दै चौतर्फी आलोचना पनि नभएको होइन । कतारमा सन् २०१० यता १६ सय ४१ जना नेपालीले ज्यान गुमाइसकेको वैदेशिक रोजगार वोर्डको तथ्यांकमा उल्लेख छ । यो संख्या भारतपछि दोस्रो ठूलो हो । कतारमा यस अवधिमा २७ सय ११ भारतीय श्रमिकले ज्यान गुमाएका छन् ।

‘मृत्यु जहाँ पनि हुन्छ, कतारमा केही नेपालीको मृत्यु भयो भन्नु र यसैलाई मसला बनाउनु उपयुक्त होइन’ कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल भन्छन् –‘कसैको पनि अकालमा मृत्यु नहोस् तर कतारमा रहेका श्रमिकको मृत्युको विषयलाई मिडियाबाजी गर्न आवश्यक देखिदैन, कतारले श्रमिकको सुरक्षमा निकैै सावधानी अपनाएको छ ।’

विश्वकपमा कतार प्रवेश गर्नका लागि हाया कार्ड अनिवार्य गरिएको थियो । फुटवल हेर्ने टिकट हुनेले हाया कार्ड बनाउन पाउथे । कतार आएका हाया कार्ड भएका पाहुना तथा खेलप्रेमीहरु जुनसुकै स्टेडियममा २० देखि ३० मिनेट भित्र निःशुल्क बस तथा रेलबाट पुग्न सक्ने ब्यबस्था कतार सरकारले गरेको थियो । फेरि कतार सरकारले आफ्नो देशमा बसिरहेका आप्रवासी कामदारको परिवारलाई फुटबल हेर्न सहुलियत दिने उद्देश्यले अपार्टमेन्ट हुने व्यक्तिलाई १० जनासम्म ल्याउन दिने नियम बनाएको थियो ।

विश्वकप कै लागि तयार गरिएका फुटवल र यसमा जडान गरिएका सुचनामूलक चिप्सहरुले भबिष्यमा फुटवल खेललाई अझै ब्यबस्थित र आधुनिक प्रविधीयुक्त बनाउन सकिने सन्देश कतार विश्वकपले दिएको छ । कतार विश्वकप जती प्रविधीयुक्त भएको छ, त्यती नै अन्य विश्वकप भन्दा महँगो विश्वकपको रुपमा पनि चर्चित रहेको छ ।

कतार विश्वकप सफल बनाउन नेपालीको सहभागिता र योगदान रहेको कतार सरकारले नै भन्दै आएको छ । ‘नेपाली हाम्रा सहयात्री हुन्, उनीहरु विना विश्वकप सम्भव थिएन’ कतारको प्रतिष्ठित मिडिया गु्रप दार अलशर्कका डेपुटी सिइओ जाबर अल हर्मी बताउँछन् । उनी नेपालीहरुको मेहनेतले नै विश्वकप आयोजना सम्पन्न गर्न सकिएको स्वीकार गर्दछन् । कतारको हरेक काममा ब्ल्युकलर जब होस या ह्वाइट कलर जबमा नेपालीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका छन ।

कतारस्थित नेपाली कामदार र अन्य आप्रवासी कामदारको सेवा सुविधा, अलपत्र पर्ने र मृत्यु हुने विषयमा कतार सरकार अझै संवदेशनशील हुनुपर्ने र चासो राख्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार आयोग तथा श्रम संगठनहरूले चर्काे दबाब दिँदै आएका छन् ।

अहिले कतार र नेपालबीचको श्रम सम्झौता परिमार्जन गर्ने समय भएको छ । त्यसका लागि एक वर्षअघि कतारका श्रमसचिवको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो । नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरिएपछि नेपालले नयाँ सम्झौताको मस्यौदा बनाएर कतारलाई जानकारी गराइसकेको छ । नयाँ सम्झौतामा कामदारको हकअधिकार र सुविधा बढ्ने अनुमान छ ।

रेमिट्यान्सका लागि पनि कतार नेपालको लागि महत्वपूर्ण गन्तव्य देश मानिन्छ । विश्वभरबाट नेपालमा बार्षिक ८७ अर्ब अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । यसमा मध्यपूर्वमा साउदी अरबपछि सबैभन्दा बढी पैसा नेपाल भित्रिने नै कतारबाट हो । कोभिड–१९ भन्दा अघि कतारबाट नेपालमा बार्षिक ८७ करोड अमेरिकी डलरको हाराहारीमा पैसा भित्रिने गरेको एक रिपोर्टमा उल्लेख छ ।

अहिले कतार विश्वकै सबैभन्दा बढी प्रतिव्यक्ति आम्दानी भएको देशमा दरिएको छ । तेल र ग्यास कतारी अर्थव्यवस्थाको आधार स्तम्भ नै हो । कूल सरकारी राजस्वमा ७० प्रतिशतभन्दा बढी योगदान तेल र ग्यासको छ । ८५ प्रतिशत निर्यात आम्दानी यही क्षेत्रबाट कतारले गर्ने गर्छ । विश्वको तेस्रो ठूलो प्राकृतिक ग्यास भण्डार कतारमै छ । ग्यासको दोस्रो ठूलो निर्यातकर्ता पनि कतार नै हो ।

कतारमा कूल बजेटको ५० प्रतिशत हिस्सा पूर्वाधार निर्माणमा खर्च गर्ने गरिन्छ । पर्याप्त बजेट र योजनाले विकासको गतिलाई तीव्रता दिएको छ । विश्वकप फुटबलपछि २०२२ अन्त्यमा कतारको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण अर्थविदहरुले गरिरहेका छन् । विश्वकप आयोजनाले कतारको अर्थतन्त्रमा १७ अर्ब डलर भन्दा बढीको योगदान हुने अनुमान छ ।

कतार विश्वकप सफल भएसँगै भिजन २०३० अन्तर्गतको लक्षित योजनामा अगाडि बढिसकेको छ । अबको बर्षमा कतारले पुर्ननिर्माण भन्दा पनि खेलकुदको देश, शिक्षाको देश, मेला तथा सेमिनारको देश, समुन्द्रको बीचमा रहेको शान्त र सुन्दर पर्यटकहरुको प्रमुख गन्तब्यको देशको रुपमा स्थापित गराउने छ ।

कतारको राजालाई नेपाल भिजिट गराउँछु : डा. नरेशबिक्रम ढकाल

कतारका लागि नेपाली राजदूत डा.नरेशबिक्रम ढकालले कार्यभार सम्हालेको केही महिनामा नै कतारले विश्वकप फुटबल खेलायो । नेपाली कामदारको इमान्दार छवि, मिहिनेती चरित्र र अथक परिश्रम गर्ने बानीबाट कतार धेरै खुशी रहेको राजदूत ढकालको भनाई छ । कतारले आयोजना गरेको विश्वकप फुटबलका लागि आवश्यक विभिन्न परियोजनामा हजारौं नेपाली कामदारले काम गर्ने अवसर पाएको ढकालले बताउनुभयो । कतारमा विश्वकपका लागि धेरै नेपालीहरुको अवसर आएको भएता पनि नेपालकै ऐनकानूनका कारण त्यो अवसरबाट बञ्चित हुनु परेको ढकालको भनाई छ । विश्वकपपछि पनि कतारमा अझ धेरै अवसर रहेकाले कतारबाट नेपालले धेरै फाइदा लिने उहाँ बताउनुहुन्छ । उहाँ कतारकोे अमीर (राजा)लाई नेपाल भ्रमण गराउने कसरतमा लाग्नु भएको छ । राजदूत ढकालसँग विश्वकप, नेपाली कामदार र दूतवासको योजनाका बारेमा गरिएको छोटो कुराकानी :

कतारले विश्वकप फुटवल सफलतापूर्वक सम्पन्न गरेको छ, यहाँले यसलाई कसरी लिनु भएको छ ?

हामीले विश्वकपलाई एउटा राम्रो अवसरका रुपमा लिएका छौ । नेपालीहरुले विश्वकपमा धेरै काम पाउनुभएको छ । त्यतिमात्र होइन धेरै नेपालीहरुले यहाँ कुनै न कुनै माध्यमबाट विश्वकप हेर्ने अवसर पनि पाउनु भयो । कतारमा नै रोजगारी गरिरहेका धेरै नेपालीहरु दर्शकका रुपमा सहभागी हुन पाउनु पनि हाम्रो लागि गौरवको कुरा हो । नेपाली श्रमिकहरु एकदमै खुशी हुनुहुन्छ । हामी सबैभन्दा भाग्यमानी रहेछौ भन्नुहुन्छ । विश्वकपका लागि शुरु भएका निर्माण कार्यदेखि लिएर हाल भइरहेका गतिविधिहरु सबै नजिकबाट नियाल्ने अवसर पाएकोमा यहाँ रहेका नेपालीहरु खुसी छन । अझ २ सय ५० भन्दा बढी नेपालीहरुले यहाँ भोलेन्टियरिङ सर्भिसको पनि मौका पाउनु भएको छ । विश्वकप खेल परिसरमा नेपालीहरुलाई देख्दा गर्वको महशुस हुन्छ ।

विश्वकपमा कतारमा नै रहेका धेरै नेपालीहरुले अवसर त पाए तर नेपालबाट आउन त पाएनन् नि, यो अवसरबाट बञ्चित हुनुपर्यो नि ?

हो, एउटै कम्पनीले ३ हजारसम्म नेपाली कामदार माग गरेको थियो । तर हाम्रो आफ्नै प्रोसेसमा समस्या भएका कारण ल्याउन सकेनौ । हामीले सर्टटर्म कामदार ल्याएर फाइदा लिनु पथ्र्यो, हाम्रै कारणले वा नेपाल सरकारको नीतिनियमका कारणले यो अवसर गुमायौं । अव हामीले नीतिगतरुपमा नै यसलाई परिवर्तन गर्नुपर्छ । यस पटकको लागि मात्रै होइन आगामी अवसरहरुमा हाम्रा श्रमिकहरुले रोजगारीको अवसर नगुमाउन् भनेर लाग्नु पर्नेछ ।

कतारले विश्वकप सम्पन्न गरेपछि नेपालीहरुले पाउँदै आएको रोजगारका अवसर घट्छ भनिन्छ नि ?

मलाई त्यस्तो लाग्दैन । यहाँ हामीले सरकारी तथा अर्धसरकारी निकायसँग छलफल गर्दा कतार अझै विकासको गतिमा अगाडि बढिरहेको छ । कतारले १५ वटा नयाँ ठूला प्रोजेक्टहरु फेरि लन्च गर्दैछ, विकासको गति ‘नेभर इन्डिङ’ भन्ने कतारको मान्यता छ । त्यसले गर्दा निर्माणको कामहरु चाँहि निरन्तर चलिरहन्छ । अहिले जुन डिमाण्ड आइरहेको छ, यो घट्दैन भन्ने मलाई लाग्छ । अव नेपालबाट हाइ स्कील लेबलको वर्कर ल्याउनुपर्छ भनेर मैले सरकारी स्तरमा कुरा राख्दै आएको छु । नेपालीहरु नल्याई कतारमा ठूला प्रोजेक्टहरु सम्भव हुनेवाला छैन ।

तपाई भर्खरै कतार आउनु भएको छ, तपाईले सोचेको र अहिले भोगेको कतारमा के फरक रहेछ त ?

वास्तवमा नेपालमा बसेर कतारलाई हेर्दा भन्दा यहाँ आएर हेर्दा धेरै फरक पाएँ । पहिला कतार नेपालीका लागि लेबर कन्ट्रि हो भन्ने मात्र लाग्थ्यो, यहाँ असाध्यै दुःख मात्रै होला भन्ने सोचिन्थ्यो, किनभने हामीले यहाँका कथा व्यथा धेरै सुन्ने मौका पाएका थियौ । तर यहाँ आएर हेर्दा त्यो भन्दा धेरै फरक पाए ।

यहाँ ४ हजारभन्दा बढी इन्जिनियर हुनुहुन्छ । डाक्टर, प्रोफेसरहरु हुनुहुन्छ । प्राइभेट सेक्टरमा पनि हाई पोजिसनमा रहेर कम्पनी चलाइरहेका नेपाली हुनुहुन्छ । व्यवसायीको संख्या पनि अधिक छ । त्यो हिसाबले हेर्दा यहाँ नेपालीहरु बर्षौवर्ष बसिरहेको र राम्रो कमाइ गरिरहेको देखियो । कहिलेकाही हाम्रो आफ्नै अज्ञानताका कारण लेबरहरुका इष्यूहरु पनि देखियो । नेपाली नेपालीहरुले एकआपसमा असहयोग गरेका कारण इष्यूहरु उत्पन्न भएको छ । तर यहाँको सरकारको र प्राइभेट सेक्टरको केशहरु कम छन् । यहाँका धेरै कानुन चाँहि लेबर हितकै लागि छन् ।

कतारमा कामदारको मृत्युको विषय विश्वभर चर्चामा आइरहन्छ, वास्तवमा श्रमिकहरुको मृत्युको दर अधिक नै हो रहेछ त ?

यो विषयमा धेरै नबुझी हल्ला फैलाएको पाइयो । गाडी वा बाइक दुर्घटना, बाटो काट्दा हुने दुर्घटना तथा प्राकृतिक कारणबाट मृत्यु विश्वमा नै हुन्छ र यहाँका अधिकांश मृत्यु पनि त्यस्तै भएको विभिन्न तथ्यांकले देखाएका छन् । काममा कामदारकै लापरवाहीले गर्दा पनि विभिन्न घटना घट्ने गर्छ, यो नेपालमा पनि हुने गर्छ । त्यसैले मलाई यहाँ मृत्युदर अस्वभाविक रुपमा बढेजस्तो लाग्दैन । कामका समयमा हुने मृत्युलाई कानुनले नै बिमा अनिवार्य गरेको हुँदा नियमानुसार बिमा भुक्तानी, क्षतिपूर्ति रकम, अनुसन्धान तहकिकात गर्नासाथ मृतकको लाश स्वदेश पठाउने काम सम्बन्धित पक्षबाट नै गरिन्छ ।

तपाई कतार आएपछि नेपाल र नेपालीका लागि थप के काम गर्ने योजना बनाउनु भएको छ ?

नेपाल र कतारबीचको दौत्य सम्बन्ध स्थापना भएको आज ४५ वर्ष पुगिसकेको छ । यद्यपि नेपालीहरु पनि लामो समयदेखि काम गरिरहनु भएको छ । तर नेपाल र कतारबीच सुमधुर सम्बन्ध देखिने कुनै रिजल्ट देख्न सकेका छैनौ । त्यसैले मैले कतारको अमिर (राजा)लाई कसरी नेपालमा भिजिट गराउन सकिन्छ भनेर सोचिरहेको छु । हाम्रो देशको प्रधानमन्त्री, राष्ट्रपतिको पटक–पटक यो देशमा भिजिट भएको छ, तर कतारको हेड अफ द स्टेटको नेपालमा भिजिट भएको छैन । । हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ उचाईमा पु¥याउँन सके एकआपसमा सहयोग देखिने कार्यको पनि प्रारम्भ हुन्छ भनेर मैले बुझेको छु । र मैले यहाँको अमिरलाई यसका लागि रिक्वेस्ट गरेको थिए । उहाँले फिफा विश्वकपपछि म नेपाल भिजिट गर्न चाहन्छु भन्ने आश्वासन दिनु भएको छ ।

अन्त्यमा, कतारबाट हामीले के सिक्न जरुरी छ जस्तो यहाँलाई लाग्छ ?

कतारले विश्वकप आयोजना गरेर विश्वलाई धेरै सिकाएको छ । कतारबाट हामीले नीतिगत र दीर्घकालीन योजनाका माध्यमबाट दु्रत विकास गर्न सकिने रहेछ भन्ने बुझ्न सक्छौ । यसका लागि तोकिएको आफ्नो काम तथा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतालाई राष्ट्रिय स्वार्थ मानेर काम गर्ने हो भने नेपालजस्तो सम्भावना नै सम्भावना भएको देशलाई विश्वकै अझ सुन्दर र विकसित बनाउन सकिन्छ भन्ने विश्वास कतारबाट पाउन सकिन्छ ।

विश्वकपमा मेरो कम्पनीले काम गर्ने अवसर पायो : आरके शर्मा 

कतारमा निमार्ण भएका ८ वटा स्टेडियम बनाउनका लागि प्रत्यक्ष संलग्न भएको पिजन इन्जिनियरिङ कम्पनीका संचालक तथा कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाउनुभएका आरके शर्माले कतारले विश्वकप सफलरुपमा सम्पन्न गरेर नयाँ कृतिमान राखेको बताउनुहुन्छ । विश्वकप प्रतियोगिता हुँदा नै शर्माका झण्डै २ हजार कामदारले लजिष्टिक, सुरक्षा गार्ड तथा क्याटरिङमा काम गर्ने अवसर पाए । शर्माको कम्पनी यसरी विश्वकपमा काम गर्ने अवसर पाउने पहिलो नेपालीको कम्पनी हो । शर्माले त्यति मात्र होइन देशविदेशमा रहेका फुटवलप्रेमी साथीभाईलाई कतारमा नै प्रत्यक्ष खेल हेर्नका लागि आवश्यक वातावरणसमेत मिलाइदिनु भयो । नेपाली समुदायका अगुवा तथा एनआरएनए आइसीसीका उपाध्यक्ष शर्मासँग विश्वकप र नेपालीहरुको विषयमा गरिएको छोटो कुराकानी :

तपाई लगायत कतारमा रहेका ४ लाख नेपालीहरुका लागि विश्वकप फुटवल कत्तिको अर्थपूर्ण रह्यो ?

कतार विश्वकप २०२२ कतारले मात्रै नभएर विश्वले नै गौरव गर्ने विषय हो । अझ ४ लाख नेपालीको कर्मभूमी कतार रहेकाले हाम्रा लागि त सबैभन्दा महत्वपूर्ण नै हुने भयो । कतार सरकारले अहोरात्र खटेर विश्वनै चकित बनाएर ग्रान्ड इभेन्ट सफलतापूर्वक सम्पन्न ग¥यो । यो सँगसँगै म कतारमै व्यवसाय गरिरहेको हुनाले म पनि फिफाको प्रोजेक्टमा ८ वटै स्टेडियम निर्माणको क्रममा आवद्ध हुन पाए । इभेन्टको क्रममा धेरै ठाउँमा मेरो कम्पनीले लोजिष्टिकको सपोर्ट गर्न पाएकोमा आफूलाई गौरवान्वित महशुस गरेको छु । चाहेमा सबै कुरा सम्भव हुन्छ भनेर कतारले विश्वलाई सन्देश दिएको छ । आजसम्म भएका विश्वकपमा कतारले इतिहास रचेको छ ।

फिफा वल्र्डकपमा तपाईको कम्पनीको कस्तो सहभागिता थियो ?

म झन्डै दुई दशकदेखि कतारमा नै कार्यरत छु । कतारले विश्वकपको जिम्मेवारी सम्हाल्दै गर्दा हामी पनि नजिकबाट यसमा जोडिन पायौं । विश्वकप चलिरहदा हामीले सर्टटर्मकारुपमा इभेन्ट मेनेजमेन्ट, पाहुनाको सत्कार तथा व्यवस्थापन लगायतको जिम्मेवारीमा सरिक हुुन पायौं । त्यसमा मेरो कम्पनीले लजिस्टिक सपोर्टमा विभिन्न स्टेडियमका भेन्युहरुमा म्याच हस्पिट्यालिटीको मेन कन्ट्याक्टरसँग सहकार्य गर्ने मौका पायो । स्टेडियमहरुका क्याटरिङमा हाम्रा १ हजार माथि स्टाफहरुले काम गरे । करिब ५ सय जना सेक्युरेटी गार्ड र ३ सय जना लजिस्टिकले काम गर्ने मौका पाए । नेपाली मेनेजमेण्टबाट संचालित मेरो कम्पनीले यति ठूलो अवसर पाउनु भनेको गर्वको कुरा हो । फिफाको प्रोजेक्टमा नेपाली म्यानेजमेण्टका ३ वटा कम्पनीले यस्तो जिम्मेवारी पाउन सफल भए ।

कतारमा सम्पन्न विश्वकपबाट नेपालीहरुले के सिक्न सक्छौ ?

सबैभन्दा पहिला त इच्छा शक्ति भएको खण्डमा जे पनि गर्न सकिने रहेछ भनेर कतारले विश्वलाई देखायो । दीर्घकालिन भिजन ल्याएर विकास निमार्णमा लाग्ने हो भने असंभव केही रहेनछ । कतारबाट हामीले धेरै पाइरहेका छौ । कतारमा धेरै नेपालीहरुले रोजगारी पाइरहेका छन् भने व्यवसाय गर्नेले व्यवसायको अवसर पनि पाइरहेका छन् । कतारबाट नेपालले धेरै फाइदा लिइरहेको छ । आगामी दिनमा नेपाल सरकारले पनि दृढ हिसाबले दीर्घकालिन भिजन लिएर अगाडि बढ्ने हो भने असंभव केही छैन भन्ने कुरा कतारबाट सिक्न सक्छौ ।

कतार कुकिङ ग्यासमा विश्वमा तेस्रोमा छ तर नेपालले पनि पुरै हाइड्रोपावर प्रयोग गरेमा विश्वको दोस्रो तेस्रोमा पक्कै आउँछ । हाइड्रो इलेक्ट्रीसिटीमा नेपालले धेरै फड्को मार्न सक्नेछ । अब नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई स्वदेशमै रोजगारी दिलाउन सक्नुपर्छ । विदेशिएका ९९ प्रतिशत नेपाली पनि छिट्टै नेपाल फर्कन आतुर छन् । हामीले पठाएको रेमिट्यान्सको सही सदुपयोग गर्दै राष्ट्र विकास गरेर हामीहरुको स्वदेश फर्किने सपना पुरा गर्नुपर्छ । कतारको समृद्धि यहीँ बसेर देख्न पाएको हुँदा गर्व पनि लाग्छ । तर, हाम्रो देशमा पनि किन यही गतिमा समृद्धि हुन सकेन भन्ने अलिकति चिन्ता लाग्छ ।

‘स्ट्रङ र डेडिकेटेड लिडरशीप’ले विश्वकप सफल : राज रेग्मी

कतारमा सफल नेपाली व्यवसायी मध्ये राज रेग्मी पनि एक हुनुहुन्छ । उहाँले कतारमा फिडियस प्रोजेक्ट एण्ड कन्ट्रक्शन कम्पनी संचालन गरेर कतारको विकास निमार्णमा काम गरिरहनु भएको छ । कतारमा रंगशाला, आधुनिक भवन तथा बाटाघाटाहरु निमार्णमा उहाँको कम्पनी संलग्न छ । कतारले विश्वकप सम्पन्न गरिरहँदा र त्यसको हिस्सा आफुहरु पनि बन्न पाउँदा रेग्मी खुशी हुनुहुन्छ । विश्वकप र नेपालीहरुको सम्बन्धमा उहाँसँग गरिएको छोटो कुराकानी :

तपाईको कर्मभूमी कतारले विश्वकप फुटबल सफलतापूर्वक सम्पन्न गरिरहँदा तपाईले यसलाई कसरी हेर्नुभएको छ ?

हामी लाखौ नेपालीहरुको कर्मभूमी कतारले सफलतापूर्वक विश्वलाई नै चकित बनाएर विश्वकप सम्पन्न गर्दा सबैभन्दा खुशी हामी नेपाली भएका छौं । एउटा राम्रो नेतृत्वले परिवर्तन र विकास ल्याउन खोज्ने हो भने त्यो सम्भव रहेछ भनेर कतारले उदाहरण देखायो । छोटो समयमा यति ठूलो इभेन्ट कतार जस्तो सानो देशले गर्नु भनेको हाम्रो लागि मात्रै नभई सम्पुर्ण विश्वकै लागि उदाहरण बन्यो । हामीले फुटबलको महाकुम्भमा प्रत्यक्षरुपमा स्टेडियममा गएर हेर्ने मौका पायौ । यसका लागि कतार सरकार र यहाँको नेतृत्वप्रति सदैव आभार प्रकट गर्न चाहान्छु ।

कतारले आयोजना गरेको यति ठूलो प्रतियोगितामा धेरै नेपालीहरुले प्रत्यक्ष खेल हेर्न पाए, तपाईले हेर्नुभयो ?

कतारमा यति ठूलो खेल हुँदा नहेर्ने त कुरै भएन नि । मैले फाइनलसहित ३/४ वटा म्याच हेरे । नेपालका साथीभाई तथा खेलप्रेमीहरु कतार आएर विश्वकप हेर्न पाउनु भनेको एउटा ठूलो अवसर पनि हो । अन्य देशमा वल्र्डकप हुँदा चाहेर पनि जान सकिदैन तर कतारमा धेरै साथीहरुले गेम हेर्नुभयो । नेपालबाट दुरीको हिसावले कतार नजिक छ । हामी लगायत एसियन मुलुकहरुले वल्र्डकप हेर्न पाउनु सबैका लागि गर्वको र खुशीको विषय हो ।

विश्वकपमा नेपालीहरुको योगदानलाई तपाईले कसरी हेर्नुभएको छ ?

कतारले नेपालबाट श्रमिक ल्याउन थालेको लामो समयदेखि नै हो । नेपाल र कतारबीच दुईपक्षिय सम्बन्ध छ । नेपालीहरुलाई इमान्दार कामदार भनेर अधिकांशले रुचाउने गरेका छन् । त्यो भनेको हामी नेपालीहरु अनुशासित छौ र कामप्रति इमान्दार छौ । यसले गर्दा दुवैतर्फ फाइदा पुगिरहेको छ । कतारले इमान्दार कामदार पाइरहेको छ भने नेपालीहरुले राम्रो रोजगारी पाइरहेको अवस्था छ । त्यसकारण कतारले आयोजना गरेको विश्वकप सफल बनाउन नेपालबाट थुप्रै कामदारहरु आएर काम गरेका छन् । र उनीहरुले राम्रो पारिश्रमिक पनि पाएका छन् । त्यति मात्र होइन विश्वकपमा धेरै नेपालीहरुले स्वयमसेवक, सुरक्षा गार्ड तथा अन्य म्यानेजमेण्टमा पनि प्रत्यक्ष काम गर्नुभयो । नेपालीहरुको निरन्तर परिश्रमको एक हिस्सा विश्वकपमा मिसिएको छ । यसमा हामीलाई गर्व लाग्छ ।

नेपालले कतारको यति ठूलो सफलताबाट केही उदाहरण सिक्न सक्छ ?

अहिलेको परिवेशमा कतार विश्वमा सुपरिचित भयो । छोटो समयमा तीव्र गतिमा विकास गरेर कतारले एक उदाहरण दिएको छ । ‘स्ट्रङ र डेडिकेटेड लिडरशीप’ले नै सबै सम्भव भएको हो । दिगो लक्ष्य लिएर हिड्यो भने पक्कै सफल होइन्छ भन्ने उदाहरण अहिले कतारले छोटो समयमा गरेको इभेन्टले दर्शाउछ । नेपालमा भएका लिडरशीपहरुले पनि यसबाट सिक्नुपर्ने धेरै कुराहरु छन् । डेडिकेटेड र कमिटेड भएर लाग्ने हो भने नेपाल बनाउनलाई पनि धेर समय लाग्दैन । दक्ष जनशक्तिहरु नेपालमै धेरै हुनुहुन्छ, मात्र भिजन चाहिएको छ ।

नेपालमा दिगो सरकार बन्ने र लक्ष्य लिएर आउने राम्रो लिडरशीप भए धेरै फड्को मार्न सकिन्थ्यो । देश बनाउनु पर्छ भन्ने सपना बोकेर डेडिकेटेड भएर लाग्ने हो भने नेपाल बनाउनलाई धेरै समय लाग्दैन । यसको उदाहरण कतार हो र हाम्रो नेताहरुले यो सिक्नुहुनेछ भन्ने अपेक्षा पनि गर्छु ।

कर्मभूमीको विश्वकपमा सरिक हुने अवसर पायौं : मोहम्मद मुक्तदा

फिफा विश्वकप कतारले आयोजना गरिरहँदा गैरआवासीय नेपाली संघ कतारको सक्रियता ह्वात्तै बढ्यो । विश्वकप हेर्न आउने नेपाली पाहुनालाई स्वागतका साथै विश्वकप अवधिभर फ्यान जोनमा नेपाली कलासँस्कृति देखाउनमा एनआरएनए कतारको व्यस्तता थियो । आफ्नो कर्मभूमीमा विश्वकप आयोजना हुँदा एनआरएनए कतारका अध्यक्ष मुक्तदा सबैभन्दा बढी खुशी देखिनुहुन्थ्यो । उहाँले सार्वजनिकरुपमा नै भन्नुभएको थियो –‘फुटवल हेर्न कतार आउनेले हामीलाई जानकारी दिनुहोला, विमानस्थलमा स्वागत गर्न एनआरएनए आइपुग्छ र आवश्यक सहयोग गर्छ ।’ अध्यक्ष मुक्तदाले स्टेडियममा नेपालको झन्डा फहराउन पाउँदा एकदमै गर्वको महशुस भएको बताउनुभएको छ । एनआरएनए कतारका अध्यक्ष मुक्तदासँग विश्वकप र कतारमा रहेका नेपाली समुदायका विषयमा गरिएको छोटो कुराकानी :

कतारले विश्वकप सम्पन्न गरेको छ, तपाईको कर्मभूमीमा यति ठूलो प्रतियोगिता सम्पन्न हुँदा के भन्न चाहनुहुन्छ ?

म विगत २० वर्षदेखि कतारलाई कर्मथलो बनाएर बसेको छु । कतारलाई कर्मथलो बनाउँदा एकदमै गर्व महसुस भएको छ । म कतारमा काम गरिरहेको छु,मलाई यो पनि गर्व छ । कतारले फिफा वल्र्डकप २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । विगतका वर्षहरुमा भएका जति वल्र्डकपहरु छन् त्यो भन्दा लाखौ गुणा राम्रो व्यवस्थापनमा कतारमा समापन भएको छ । यसको लागि नेपाली समुदायबाट भोलेन्टियर लाग्नुभएका सम्पुर्ण भोलेन्टियर साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु र नेपाली समुदायबाट प्रत्यक्ष अप्रत्यक्ष सहभागी हुनुभएका र सहयोग गर्नुहुने सबै साथीहरुलाई म एनआरएनए कतारको अध्यक्षको नाताले हार्दिक धन्यवाद दिन चाहान्छु ।

विश्वकपमा एनआरएनए कतारको तर्फबाट कस्तो सहभागिता रहेको थियो ?

गैरआवासिय नेपाली संघ कतारले फिफा वल्र्डकप गराउने संस्था सुप्रिम कमिटीसँग र कतार सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गर्दै विभिन्न कार्यक्रम गर्यौ । नेपाली दूतावासको सहकार्यमा एनआरएनएले विभिन्न खेलकुद निकायसँग समन्वय गर्दै पनि कार्यक्रम गर्यौ । हामी वल्र्डकपमा कसरी सहभागी हुन सक्छौ ? कसरी आफ्नो देशको भेषभुषा र कल्चरलाई विश्वसामू देखाउन सक्छौ ? भनेर पटक पटक छलफल ग¥र्यौ । फिफा वल्र्डकप हुनुभन्दा अगावै नेपालीहरुलाई डेढ घण्टा समय दिइएको थियो । सो समयमा हामी सबै सहभागी भएर नेपाली कला संस्कृति र भेषभूषा प्रस्तुत ग¥यौ । सबैले एकदमै राम्रो लाग्यो भनेर प्रशंसा गर्नुभयो ।

त्यसपछि हामीले कतार सरकारको श्रम मन्त्रालयसँग समन्वय गरेर कतार सरकारले उपलब्ध गराएको स्थानमा नेपाली समुदाय भेला भएर सांस्कृतिक कार्यक्रमहरु, नेपालको भेषभुसा, नेपालको कला संस्कृति देखाउने अवसर पायौ । हामीले वल्र्डकप अवधीभर दैनिक जसो नै सनैयाको एसिया टाउनमा रहेको फ्यान जोन र कर्निसको फ्यान जोनमा प्रस्तुती दिने अवसर पायौ । त्यसको लागि कतार सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

कतारमा आयोजना भएको वल्र्डकपबाट हामी नेपाल र नेपालीले फाइदा लिन सक्यौकी सकेनौं ?

हामी नेपालीहरुका लागि यो सबैभन्दा राम्रो अवसर थियो । हालसम्म जति वल्र्डकप भए त्यो भन्दा हजारौ गुणा नेपालीहरुले कतारमा वल्र्डकप हेर्न पाए । त्यो नै सबैभन्दा ठूलो उपलब्धी हो । कर्मथलो बनाएर बसेको देशले फिफा वल्र्डकप आयोजना गर्नु भनेको हाम्रो लागि गर्वको विषय हो । हामी जुन देशमा बसेका छौ त्यही देशमा वल्र्डकप हेर्न पायौं ।

एउटा सामान्य व्यक्तिले पनि फिफा वल्र्डकप हेर्न पाएको छ । कतार सरकारले सुरुमा सस्तो टिकटमा नेपाली दाजुभाइ दिदिबहिनीहरु टिकट काटने अवसर दिएको थियो । अहिलेसम्म अरु देशमा वल्र्डकप हुँदा नेपालीहरुको सहभागिता एकदमै कम हुन्थ्यो । अहिले नेपालबाटै कम्तीमा पनि ३–४ हजार नेपाली आएर फिफा वल्र्डकप हेर्नुभएको छ । कयौ नेपाली साथीहरुलाई कतारमा स्वागत गर्न पायौ ।

एनआरएनएले विश्वकप हेर्न आउनेहरुलाई स्वागत तथा सम्मान गर्न पाउँदा कस्तो अनूभूति भयो ?

एनआरएनए एनसीसी कतारले आइसीसीमार्फत विश्वमा छरिएर बस्नुभएका गैरआवासीय नेपालीहरुलाई कोही पनि साथी वल्र्डकप हेर्न कतारमा आउँदै हुनुहुन्छ भने हामीलाई जानकारी गराएर आउनु हामी एयरपोर्ट मै आएर स्वागत गर्छौ भनेका थियौं । एनआरएनएका पदाधिकारी, एनआरएनएका अभियान्ता साथीहरु, पत्रकारहरु तथा नेपालका अन्य व्यक्तिहरुलाई एयरपोर्टमा पुगेर स्वागत सम्मान गर्न पाउँदा एकदमै खुशी भएका छौ । यो भन्दा खुशी हुने ठाउँ छैन । अनि खेल भएको स्टेडियममा नेपालको झन्डा फहराउन पाउँदा एकदमै गर्व महशुस भएको छ । यो सानो कुरा होइन हामीले जुन किसिमको अवसर पाएका छौ त्यो अर्को पटक आउँछ आउँदैन । मैले पनि जिवनमा पहिलो पटक बिना खर्च विश्वकप २०२२ मा सरिक हुन पाए । आफूलाई निकै भाग्यमानी भएको महशुस गरेको छु ।

कतारबाट विश्वले धेरै सिक्नेछ : प्रो.रमजान अलि मिया

कतार दशकौंदेखि लाखौं नेपालीको कर्मभूमिको रुपमा रहिआएको छ । चार दशक भन्दा लामो कुटनैतिक सम्बन्धको इतिहास बोकेको र सरकारी स्तरमा अत्यन्तै सुमधुर सम्बन्ध रहेको नेपाल र कतारका जनताबीचको सम्बन्ध पनि उत्तिकै उदाहरणीय छ ।

कतारले पृथक ढंगले फिफा विश्वकप कतार २०२२ को आयोजना गर्दै यसलाई सफलतापूर्वक सम्पन्न गरेको छ । जुन उत्साह, खुशी र उल्लासका साथ अरब जगतको कतारी भूमिमा पहिलो पटक फिफा विश्वकप सम्पन्न भयो त्यसले नेपाल र नेपालीका लागि पनि अवसर लिएर आयो । कतारबाट हामी मात्र होइन विश्वले धेरै सिक्नेछ । हामीले कतारलाई धेरै दियौ, अव कतारबाट लिनुपर्छ भन्ने मान्यताले सरकारी पक्ष अगाडि बढ्नु पर्छ ।

(अर्थ र रोजगार राष्ट्रिय मासिकको पुस अंकमा प्रकाशित आवरण रिपोर्ट)

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *