कतारले आज विश्वकप समापनसँगै राष्ट्रिय दिवस मनाउँदै

news-details

कतारले आज अर्थात डिसेम्बर १८ का दिन भव्यताका साथ राष्ट्रिय दिवस मनाउँदै छ । कतारका संस्थापक शेख जासिम बिन मोहम्मद बिन अल थानीले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ को सम्झनामा कतारले हरेक वर्ष राष्ट्रिय दिवस मनाउने गरेको छ ।

‘हाम्रो एकता हाम्रो शक्तिको स्रोत हो’ भन्ने नारासहित कतारले यस वर्षको राष्ट्रिय दिवस मनाउदै छ । यो नाराले तालमेल र एकतालाई अभिवृद्धि गर्ने, राज्यको वरिपरि जनताको एकता देखाउने र जनताको एकताको आधार रहेको जनाउने उदात्त अर्थ बोकेको बताइएको छ । यसले कतारमा नेतृत्व र जनताबीचको दृढ एकतालाई मूर्त रूप दिने उल्लेख गरिएको छ ।

राष्ट्रिय दिवसका अवसरमा दोहाको मुटुमा रहेको कर्नेचमा विभिन्न कार्यक्रम हुनेछन् । अमिरी दिवानले कतार राष्ट्रिय दिवसको अवसरमा आइतवार आधिकारिक बिदा दिने घोषणा गरेको छ ।

हरेक वर्ष कतारले मनाउने राष्ट्रिय दिवसमा दोहा शहरको छेउमा रहेको अल कर्नेशमा आर्मी फोर्स, आन्तरिक मन्त्रालय, लखविइया, अल फजअ नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउँछन् । त्यसैगरी, सैन्य तथा युद्ध सामाग्री तथा सैन्य विमानहरूको प्रदर्शन पनि हुने गर्दछ । यस वर्ष प्रतिष्ठित कतार राष्ट्रिय दिवस एयर शो नयाँ लुसेल बुलेभार्डमा आयोजित हुनेछ, जहाँ रक्षा मन्त्रालयले आकाशमा आश्चर्यजनक हवाई प्रदर्शनहरु गर्नेछ ।

कतारी नरेश शेख तमीम बिन हमद अल थानीले राष्ट्रिय दिवसको अवसरमा विभिन्न अभियोगमा कैदी जीवन बिताइरहेका कैदीहरुलाई आममाफीसमेत दिएका छन् । कैदीबन्दीहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने प्रचलन छ ।

साथै अमिरले कतारका सम्पूर्ण बासिन्दा तथा आप्रवासी नागरिकलाई शुभकामना सन्देश समेत दिएका छन् । तत्कालीन उत्तराधिकारी एवम् युवराज तथा हालका कतारी अमिरको आदेश अनुसार २१ जुन २००७ बाट १८ डिसेम्बरमा राष्ट्रिय दिवसको रूपमा सार्वजनिक बिदा दिन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९७१ मा मात्रै कतारलाई अलग्गै स्वतन्त्र देशको मान्यता दिएको हो ।

राष्ट्रिय दिवसका अवसरमा कतारका महामहिम उपप्रधानमन्त्री तथा रक्षा मामिला राज्यमन्त्री डा खालिद बिन मोहम्मद अल अतियाहले राष्ट्रिय दिवसलाई संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीले स्थापित गरेको एकता र वफादारीको मूल्यलाई प्रेरित गर्ने अवसर भएको बताएका छन् ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । तत्कालीन अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए । उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए । स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए ।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए । उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८७८ मा सुल्तान अब्दुल हमिदको पद पाए ।

सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो । सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ ।

राष्ट्रिय दिवसकै दिन आज फिफा वल्र्डकप २०२२ को समापन समारोह पनि आयोजना हुँदैछ । फिफा विश्वकप कतार २०२२ को समापन समारोहमा अर्जेन्टिना र फ्रान्सबीचको फाइनल अघि कतारले विशेष कार्यक्रमसहित विश्वभरका दर्शकहरुलाई चकित पार्ने गरी कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *