मलेसियाबाट एकैदिन ६ जनाको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो
- अशोज २, २०७८
- 0
मलेशियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका नेपालीको शव र उतै अन्तेष्टि गरिएकाको अस्तु नेपाल ल्याइएको हो ।
नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
जनउद्धार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल फर्किएकाको समेत रहेको छ । उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।
कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।