मलेसियामा कार्यरत नेपालीहरुले सहयोग उठाएर नेपाल सरकारलाई ६५ वटा मिनी अक्सिजन भेन्टिलेटर (बिपाप भेन्टिलेटर) प्रदान गरेका छन् । मलेसियामा रहेको सामाजिक कल्याण संघ जनउद्धार केन्द्रको संयोजकत्वमा उक्त भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अक्सिजन भेन्टिलेटर हास्य कलाकार मनोज गजुरेल र जनउद्धार केन्द्रका नेपाल संयोजक मुकुट रायमाझीले मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरे ।

मलेसियाको पेनाङ्गमा कार्यरत नेपाली तथा वेष्टर्न डिजिटल कम्पनी पेनाङ्गका नेपाली र लभ पेनाङ नेटवर्कमार्फत संकलन भएको रकमबाट जनउद्धार केन्द्रले संयोजन गरी २७ लाख रुपैया बराबरको उक्त भेन्टिलेटर नेपाल पठाएको हो ।

मलेसियामा कार्यरत नेपालीले गाँस काटेर पठाएको भेन्टिलेटर नेपालका अतिविपन्न नागरिकका लागि प्रयोग होस् भन्ने उदेश्य रहेको जनउद्धार केन्द्र नेपालका संयोजक रायमाझीले बताए ।

जनउद्धार केन्द्र मलेसियाले दियो सरकारलाई ६५ वटा मिनी अक्सिजन भेन्टिलेटर

मलेसियामा जेलमा परेका, समस्यामा परेका तथा दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको जनउद्धार केन्द्रले पठाएको स्वास्थ्य सामाग्री नेपालमा सही सदुपयोग गर्न हाँस्य कलाकार मनोज गजुरेलले नेपाल सरकारलाई अनुरोध गरे । उनले भने–‘ गाँस काटेर सहयोग गर्नेको भावानामा ठेस नलागोस् ।’

भेन्टिलेटर ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले नेपालमा अत्यावश्यक मिनी भेन्टिलेटर पठाएकोमा सहयोगी सबैलाई आभार प्रकट गर्दै सही सदुपयोग हुने विश्वास दिलाए । उनले भने–‘ बिपाप भेन्टिलेटर भनेको सेमी भेन्टिलेटर हो, यसमा अक्सिजन खपत कम हुने भएकाले यो हाम्रो सन्दर्भमा अत्यावश्यक छ, त्यसैले तपाईहरुले भनेका ठाउँमा हामीले पठाउने विश्वास दिलाउँछु ।’

जनउद्धार केन्द्र मलेसियाले दियो सरकारलाई ६५ वटा मिनी अक्सिजन भेन्टिलेटर

जनउद्धार केन्द्रले मलेसियामा रहेका नेपालीहरुको मात्र नभएर नेपालमा समस्या पर्दा पनि विभिन्न सहयोग गर्दै आएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाको भनाई छ । मलेसिया सरकारमा आधिकारिक दर्ता भएको जनउद्धार केन्द्रले नेपाली दूतावास मलेसियासँगको सहकार्यमा काम गर्दै आएको छ ।