कतारमा रहेका नेपाली व्यवसायी र नेपाली दूतावास कतारले पठाएको एक करोड २० लाख बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाली दूतावास कतार र नेपाली व्यवसायी संघ कतारले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाली व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई आइतबार विमानस्थलमा नै पुगेर हस्तान्तरण गरेका हुन् ।
नेपाली व्यवसायी संघ कतारका अध्यक्ष तथा कोरोना राहत समितिका संयोजक महेन्द्रप्रसाद चौलागाँईका अनुसार एक करोड २० लाख मूल्य पर्ने स्वास्थ्य समाग्रीहरुमा १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला रहेका छन् ।
स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गर्नका लागि संघले अनुरोध गरेको छ । हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् । संघले चाइनामा स्वास्थ्य सामाग्री खरिद गरेर कार्गोसहित आफ्नै खर्चमा स्वदेश ल्याएर हस्तान्तरण गरेको हो ।
नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराउनकै लागि नेपाली व्यवसायी संघले नेपाली राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा ‘नेपालका लागि कोरोना राहत समिति–कतार–२०२१’ गठन गरेर सहयोग अभियान सुरु गरेको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कतारका नेपाली व्यवसायीले पठाएको स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो प्रादेशिक अस्पतालमा पु¥याउन सरकारलाई अनुरोध गर्दै नेपाली व्यवसायी संघका प्रमुख सल्लाहकार टिबी कार्कीले भने–‘नेपाल र नेपालीका लागि भनेर कतारबाट स्वतस्फुर्तरुपमा गरिएको सहयोगको सही सदुपयोग हुन सकोस् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेलले स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो प्रादेशिक अस्पतालमा पठाइने जानकारी दिए । उनले स्वास्थ्य सामाग्री ग्रहण गर्दै भने–‘कतारका नेपाली व्यवसायीले एक करोडभन्दा बढिको स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्यवाद दिदै प्राप्त स्वास्थ्य सामाग्रीको सही सदुपयोग हुने विश्वास दिलाउँछु ।’
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालमा रहेका नेपाली व्यवसायी संघका प्रतिनिधिहरु टिबी कार्की, दुर्गा थापा, पिताम्बर चापागाई, शंकर न्यौपाने, दिल्शन बोहोरा, मधुकर रिजाल, प्रेम चौलागाईको उपस्थिति रहेको थियो ।

नेपालमा दैनिक कोरोनाका बिरामी बढेर भयावह अवस्था निम्तिएपछि नेपाली दूतावास कतारको संरक्षकत्वमा नेपाली व्यवसायी संघ दोहा कतारले नेपालमा स्वास्थ्य सामाग्री पठाउने जिम्मेवारी उठाएको थियो । संघले कतारमा रहेका ५१ जना व्यवसायी तथा कम्पनीहरुबाट पहिलो पटक यति धेरै रकम उठाएर सहयोग पठाउन सफल भएका हुन् । कतारमा क्रियाशील नेपाली संघसंस्थाहरुमध्ये नेपाली व्यवसायी संघ कतार मात्रै कतार सरकारबाट कानुनी मान्यता पाएको संस्था हो ।
संघले खरिद गरेको स्वास्थ्य सामाग्री नेपाल ल्याउन केही केही प्राविधिक समस्याका कारण ढिला भएको स्वीकार्दै संघका अध्यक्ष तथा कोरोना राहत समितिका संयोजक चौलागाईले सबै स्वास्थ्य सामाग्रीको सही सदुपयोग गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘कोरोना महामारीको चपेटामा परी छटपटाई रहेको नेपालीको अवस्था तथा ठुलो संख्यामा उपचार अभावमा अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा जसले जे सक्छ वा जति सक्छ सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो, धर्म पनि हो’ राहत समितिका संयोजक चौलागाईले भने–‘ विदेशमा रहे बसे पनि हरदिन मातृभूमि सम्झिने यस मनलाई शान्ति प्रदान गर्ने बाटोका रुपमा कतारमा कार्यरत व्यवसायीहरूको तर्फबाट सकेको सहयोग गरेका हौं ।’

कतारमा कार्यरत व्यवसायी तथा नेपाली व्यवसायी संघलाई नेपाली दूतावास कतार र राजदूत डा.नारदनाथ भारद्वाजको राम्रो साथ रहेको छ । राजदूत आफैले व्यक्तिगतरुपमा एक लाख रुपैया सहयोग रकम प्रदान गरेका छन् ।
कतारमा रहेका नेपाली व्यवसायीहरु आर्थिकरुपमा केही सवल हुनुका साथै मनका पनि धनी भएकाले नेपालमा समस्या पर्दा तत्काल सहयोग गर्न पहिला आफुले अनुरोध गरेको राजदूत भारद्वाजले बताए । उनले भने–‘ कतारमा मान्यता प्राप्त व्यवसायी संघसँग दूतावासले सहजीकरण र सहकार्य गरिरहेको छ, अहिले मानवीय कार्यका लागि संघका अध्यक्षलगायत सबै व्यवसायीहरु पवित्र मनले जुट्नुभएकोमा मेरो तथा व्यक्तिगत तर्फबाट धन्यवाद दिन पनि चाहन्छु ।’









