फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

news-details

फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् ।

कोभिड सङ्कटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सियस जेभियर लेगरले हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण समारोहमा मन्त्री त्रिपाठीले कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुग्ने यो मूल्यवान् सहयोगका लागि फ्रान्स सरकारलाई धन्यवाद दिनुभयो । यो सहयोग फ्रान्स सरकारले द्विपक्षीय सम्बन्ध र युरोपियन युनियन ‘सिभिल प्रोटेक्सन मेकानिज्म’मार्फत आउने सहयोग अन्तर्गत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पठाएको चिकित्सा सहयोग सामग्री बुधबार नै नेपाल आइपुगेको छ । विशेष विमानबाट ल्याइएको ती सामग्रीमा भेन्टिलेटर, चिकित्सा ट्रली, मास्क, मेडिकल गाउन, गगल्सलगायत छन् । केही दिनअघि नेपाल र यूएईका विदेशमन्त्रीबीच भएको वार्ताका क्रममा प्रतिबद्धता अनुसार यूएई सरकारले सहयोग सामग्री नेपाल पठाएको हो । ती स्वास्थ्य सामग्री बुधबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *