कोरोना भाइरसको नयाँ भेरियन्ट: प्रवासमा रहेका नेपालीलाई सुरक्षित बनाउन राजदूतहरु जुटे छलफलमा

news-details

नेपाली राजदूतावास मस्कटको संयोजनमा मध्यपूर्वका मुलुकहरू तथा पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने कदममा सम्बन्धमा भर्चुअल माध्यम वेबिनारबाट छलफल भएको छ ।

नेपाली राजदूतावास ओमानका राजदूत सर्मिला पराजुली ढकालले संयोजन गर्नुभएको कार्यक्रममा साउदी अरबका राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपूत, बर्माका राजदूत पदम सुन्दास, कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी, कतारका राजदूत डा. नारदनाथ भारद्बाज, युएईका राजदूत कृष्णप्रसाद ढकाल, इजरायलका राजदूत डा. अञ्जान शाक्य, मलेसियाका राजदूत उदयराज पाण्डे, पाकिस्तानका राजदूत तापस अधिकारी, साउथ अफ्रिकाका राजदूत डा निर्मल कुमार विश्वकर्मा र नेपाली राजदूतावास, घाना (कायरो)का उपनियोग प्रमुख (द्धितीय सचिव) दिपक घिमीरे लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकहरूले चालेका प्रभावकारी कदमहरू तथा खोपको उपलब्धता र त्यसको प्रभावकारीताको सम्बन्धमा आ–आफ्ना अनुभवहरू आदान–प्रदान गर्नुभयो ।

साथै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा तत्–तत् मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्दार तथा राहत सम्बन्धमा आ–आफ्ना विचारहरू व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्ना विचार प्रस्तुत गर्दै राजदूत उदयराज पाण्डेले ठुलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेका श्रम गन्तव्यहरूबाट स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू कडाइका साथ पालन गर्ने र गराउने गरी यथासक्य चाडो अन्तर्राष्ट्रिय उडान सुचारू गर्नका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

त्यसैगरी राजदूत डा. नारदनाथ भारद्बाज तथा राजदूत डा अञ्जान शाक्यले यात्रुहरूको निगरानी गर्न तथा कोभिड–१९ को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमहरूको पालना गराउन विभिन्न मुलुकहरूले प्रयोगमा ल्याएका मोबाइल एप्सहरू पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एप्सहरू विकास गरी संचालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राजदूत सर्मिला पराजुली ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाई राख्न आर्थिक कूटनीति संचालनको जिम्मेवारीलाई पनि साथसाथै अगाडि बढाउनु पर्ने कुरामा जोड दिँदै नेपालमा हरित हाईड्रोजन उत्पादनको सम्भावना र त्यसका लागि वैदेशिक लगानी आकर्षित गर्न सकिने सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गर्नुभयो ।

साथै कार्यक्रममा आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको परिवर्तित प्रभाव र त्यहाँ कार्यरत नेपाली समुदायको स्थितिको बारेमा सूचना तथा जानकारी निरन्तर आदान–प्रदान गर्ने र सम्बन्धित मुलुकमा रहेका गैरआवासीय नेपाली समुदाय लगायत विभिन्न नेपाली संघ संस्थाहरूसँग समन्वय गरी नेपाली समुदायलाई सुरक्षित राख्ने सम्बन्धमा आवश्यक कार्य गर्ने विषयमा पनि सहभागीहरूबीच छलफल भएको थियो ।

कर्यक्रमको अन्त्यमा राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण राजदूतहरू तथा प्रतिनिधिहरूलाई वेविनारमा सहभागिताका लागि समय व्यवस्थापन र आफ्ना अनुभवहरू आदानप्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *