कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा भम्रण गर्दा ९० दिनसम्म भिसा लिनु नपर्ने गरी नेपाल र ओमानबीच सम्झौता भएको छ । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको हो ।

सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले उक्त सम्झौतामा हस्ताइार गरेका हुन ।

उक्त सम्झौता अनुरूप कुटनैतिक राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल र ओमानका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने

यस्तै यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने र पछिल्लो समयमा ओमान अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने राजदूत ढकालले बताइन ।

हस्ताक्षर कार्यक्रममा राजदूत ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव वहेबिले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिएको नेपाली दूतावासले जनाएको छ ।

नेपाल र ओमानका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने

यस्तै सो अवसरमा महामहिमहरूले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गर्नु भयो । यसैगरी छलफलमा द्विपक्षीय लगानी प्रबर्द्बन, पर्यटन प्रबर्द्बन एवम् आपसी हितका विषयहरू पनि समावेश भएका थिए ।

उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।