नेपाली अर्गानिक स्वाद फैलाउने उद्देश्यसहित नेपाली व्यवसायी केशव अधिकारीले जापानमा रेष्टुरेन्ट व्यवसाय सुरु गरेका छन ।

जापानको कामाता स्टेशन नजिकै गत जुन १५ देखि संचालनमा ल्याइएको ‘चौतारो’ नेपाली रेष्टुरेन्टले सुरुवाती समयमै धेरै ग्राहकहरुलाई आकर्षित गर्न सफल भएकोमा आफुलाई थप हौसला मिलेको संचालक अधिकारीले बताए ।

नेपाली कला संस्कृति झल्कने गरी सजाइएको रेष्टुरेन्टमा झण्डै साढे ४ करोड लगानी भएको र रेष्टुरेन्टले मासिक १ करोडको कारोवार गर्ने लक्ष्य राखेको संचालक अधिकारीको भनाई छ । रेष्टुरेन्टसँगै नेपाली अर्गानिक तरकारी तथा खाद्यान्न विक्रिका लागि स्टोरसमेत संचालनमा रहेको छ ।

जापानमा नेपाली अर्गानिक स्वाद फैलाउँदै अधिकारी

चौतारो रेष्टुरेन्टमा हलाल फुडका साथै फर्सिका मुन्टा, साग, घिरौला, सिमी, लौका, खुर्सानी, काँक्रा, खसीको मासु जस्ता नेपाली अर्गानिक तरकारीका साथै टिपिकल नेपाली लोकल चामलको खाना र नास्ता स्पेशल मेन्युकारुपमा रहेको अधिकारीले बताए ।

‘हामीले रेष्टुरेन्ट र स्टोरका लागि अर्गानिक तरकारी उत्पादन गर्न आफैले फार्महाउस समेत संचालनमा ल्याएका छौ’ अधिकारीले भने –‘हामीले जापानमा रहेका नेपालीलाई मात्र नभएर विदेशीलाईसमेत अर्गानिक नेपाली स्वाद र नेपाली कलासंस्कृतिमा लोभ्याउन भरपूर मेहनत गरेका छौ ।’

जापानमा नेपाली अर्गानिक स्वाद फैलाउँदै अधिकारी

रेस्टुरेन्टमा पूर्णतया पारिवारिक वातावरण रहेको र परिवारसहित बसेर नेपाली स्वाद चाख्न पाइनेका साथै विभिन्न सेमिनार, कार्यक्रम तथा समारोहसमेत आयोजना गर्न सकिने संचालक अधिकारीले बताए । रेष्टुरेन्टमा क्यबिनसहित करिब २५० जना अट्न सक्ने क्षमता रहेको छ ।

संचालनको अवसर पारेर चौतारो रेष्टुरेन्टले नेपाली ग्राहकहरुको हकमा निःशुल्क रेमिट्यान्स सुविधा पनि उपलब्ध गराएको छ ।

धादिङ स्थायी घर भएका व्यवसायी अधिकारी जापानमा विभिन्न व्यवसायका अलवा सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन् ।