ओमानबाट ८३० नेपाली घर फिर्ता : सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा

news-details

नेपाली राजदूतावास, ओमानले पाँचौं उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ ।

कोभिड १९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ ।

हिजोको उडानबाट नेपाल फर्केकामध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान पुगेको र विसं २०७० देखि सम्पर्कविहीन रहेको उनका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जनाइएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा पुगेर घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी आजकै उद्धार उडानमार्फत नेपाल फर्काईएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करीब ६० नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरिन । यात्रुको यात्रा सहजीकरणका लागि दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लब (एनआरएनए)का सदस्यलगायत नेपाली राजदूतावास, मस्कट कोभिड–१९ व्यवस्थापन स्वयम्सेवी सदस्यले योगदान गरेका थिए ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त गराएकामा राजदूत तथा दूतावासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । उनीहरुलाई सफल घरफिर्ती गराउन, पीडितलाई सम्पर्कमा ल्याउन तथा उद्धारमा प्रत्यक्षअप्रत्यक्ष सहयोग पु¥याउने सहयोगी सङ्घसंस्था एवम् व्यक्तिलगायत समस्त नेपाली समुदायप्रति दूतावासले आभार व्यक्त गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *