ओमानमा नेपाली दूतावासको भवन निर्माणका लागि जग्गा प्राप्ती सम्वन्धी सम्झौता सम्पन्न्

news-details

नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयमा आज एक हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ ।

सम्झौतापत्रमा ओमानकोतर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको र उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने नेपाली दूतावास ओमानले जानकारी दिएको छ ।

हस्ताक्षर कार्यक्रम पश्चात् भएको भेटमा ओमानको  परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताएका थिए । नासिरले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई बद्याई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाएका थिए ।

भेटमा मोहम्मद विन नासिर र नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल-ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट गरेका थिए ।

दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिने तथा यसले खाडी क्षेत्रमा रहेका करीब १५ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने विश्वास रहेको नेपाली दूतावास ओमानले जनाएको छ ।

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्ने र आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने दूतावासले जनाएको छ ।

साथसाथै उक्त भवनको निर्माण पश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुने र उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रबर्द्बनमा समेत थप योगदान पुर्‍याउने दूतावासको योजना रहेको बताइएको छ।

उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका अन्य पदाधिकारीहरू तथा नेपाली दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *