साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश यादव यसरी फर्किए स्वदेश

news-details

खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएर जेलजिवन विताइरहेका कमला नगरपालिका ३ (धनुषा)का उदेश यादव सजायमुक्त भएर नेपाल फर्किएका छन ।

पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्षदेखि जेल जीवन विताइरहेका उमेश बुधबार विहान नेपाल आइपुगेका हुन् । उनलाई मृत्युदण्डको सजायबाट जोगाउन अभियन्ता सरोज रायसहितका युवाहरुले ३ वर्षदेखि लगातार अभियान चलाएका थिए ।

सन् २००६ मा रोजगारीका लागि साउदी पुगेका यादवलाई सोही वर्ष भएको एक घटनामा पाकिस्तानी नागरिक मो लतिफ बसिरको हत्या गरेको आरोप लागेको थियो । आपसी विवादमा झडप हुदा बसिरको मृत्यु भएपनि अदालतले भने आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा बसिरलाई उमेशले रड हानेर हत्या गरेको आरोप लगाएको थियो ।

उनीमाथि लागेको आरोपमा साउदीको जनरल कोर्टले सन् २०१७ मार्च १५ मा उमेशलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावेदन अदालतमा रिट दायर गरेकोमा पुनरावेदन अदालतले भने १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यूदण्डको फैसला सुनायो ।

उमेशले मृत्युदण्डको सजाय पाएको सुनेपछि उनलाई बचाउन अभियान थालेका अभियन्ता सरोज रायले मृतक बसिरका परिवारले ‘ब्लडमनी’ लिएर माफि दिए उमेश बच्ने थाहा पाएपछि पाकिस्तान नै पुगेर बसिरको परिवारलाई भेटेका थिए । अन्तत : बसिरका परिवारले पाकिस्तानी रकम ३० लाख ‘ब्लडमनी’ लिएर उमेशलाई माफी दिन सहमत भएका थिए ।

यसपछि अभियन्ता राय सहितको समूहले ‘उमेश बचाउ अभियान’को नाममा देशविदेशबाट उक्त रकम संकलन गरी पीडित परिवारलाई साउदीस्थित नेपाली दूतावासमार्फत ब्लडमनी बुझाएपछि उमेशले आममाफि पाएर स्वदेश फर्कन पाएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *