कतारी नागरिक अब्दुल्लाह युसुफ रहमान अल फख्रु  नेपाल भ्रमण बर्ष २०२० का लागि ह्वील चियरमा नेपाल आएका छन् । ७४ बर्षिय फख्रु २०२० मा नेपाल भ्रमण गर्न आउने पहिलो कतारी नागरिक हुन् ।

नेपाली दूतावास कतारले उनलाई २०२० मा पहिलो भिजिट भिषा प्रदान गरेको हो । नेपाली दूतावास कतारले आयोजना गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’को शुभारम्भ विशेष कार्यक्रममा राजदूत डा.नारदनाथ भारद्वाजले कतारी नागरिक फख्रुलाई भिषा प्रदान गरेका थिए । फख्रु  कतारका पूर्व कुटनैतिक क्षेत्रमा काम गरेका प्रख्यात व्यक्तित्व हुन् ।

आफ्नो कुटनैतिक यात्रामा बेल्जियममा कार्यवाहक राजदूत, युएइमा राजदूत तथा यूएन मिशनमा प्रमुख भएर काम गरिसकेको अनुभव फख्रुमा छ । नेपाललाई औधी माया गर्ने फख्रुले नेपालको भ्रमण पहिला पनि गरिसकेका छन् भने सामाजिक कार्यमा नेपालमा सहयोग गरिरहेका छन् ।

७४ बर्षिय कतारी ‘नेपाल भ्रमण बर्ष’ मनाउन ह्वील चियरमा आए नेपाल

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कतार एयरवेजले प्रदान गरेको विशेष सुविधा त्यागेर फख्रु  नेपाल एयरलाइन्सको उडानबाट नेपाल आएका छन् । काठमाडौंमा एक दिन बसेर पोखरामा १० दिन बस्ने र नेपाल बसाई १ महिना हुने जनाइएको छ ।

कतारको तर्फबाट नेपाल भ्रमणवर्ष २०२० सफल बनाउन आफुले सक्दो सहयोग गर्ने फख्रुको भनाई छ । नेपाली दूतावासमा नै पुगेका फख्रुलाई राजदूत भारद्वाजले अभिनन्दनसहित विदाई गर्दा निकै भावुक बनेका थिए । नेपाललाई माया गर्ने कतारी नागरिक देख्दा उनी खुशीले निकै भावुक बनेका हुन् ।

नेपाल पर्यटन वर्ष २०२० को अवसरमा कतारी नागरिकलाई नेपाल घुम्न जान अभिप्रेरित गरी भुमिका खेलेका मानव अधिकार आयोग कतारका नेपाल च्याप्टर प्रमुख प्रोफेसर रमजान अलि मियाँले युसुफ फख्रुलाई नेपाली ढाका टोपी लगाएर विदाई गरेका थिए ।

७४ बर्षिय कतारी ‘नेपाल भ्रमण बर्ष’ मनाउन ह्वील चियरमा आए नेपाल

खाडी देशबाट नेपाल भ्रमण गर्न चाहने धेरै छन्, उनीहरुलाई लक्षित कार्यक्रमहरु अझ गर्न सके धेरैभन्दा धेरै पर्यटक नेपाल आउने थिए ।