केन्याको क्लबबाट २१ नेपाली महिलाको उद्धार
- साउन ५, २०७५
- 0

केन्याको राजधानी नाइरोबीबाट २१ जना नेपाली महिलाको उद्धार गरिएको छ । सनिबार बाहिरी भेगमा रहेका दुईवटा क्लबमा छापा मारेर स्थानीय प्रहरीले उद्दार गरेको हो । ती महिलालाई शोषणका निम्ति केन्यामा बेचबिखन गरिएको प्रहरीले जनाएको छ। स्थानीय प्रहरीका अनुसार बेचबिखनको शंकामा तीनजनालाई पनि पक्राउ गरिएको छ।
प्रहरीले मानव बेचबिखनको अन्तर्राष्ट्रिय गरोहसँगको सम्भावित सम्बन्धको छानबिन गरिरहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
यसै वर्षको जनवरी महिनामा मोम्बासा शहरबाट सातजना नेपाली र तीनजना भारतीय युवतीको उद्धार गरिएको थियो। अभियानकर्मीहरूका अनुसार हरेक वर्ष हजारौं नेपाली महिला र बालबालिका बेचबिखनमा पर्छन्। ती मध्ये कैयौंलाई छिमेकी भारत वा अन्य देशमा यौनधन्दामा लाग्न बाध्य पारिने गरिएको बताइएको छ ।
नेपाली महिलाहरूलाई अफ्रिकी मुलुकहरूमा बेचबिखन गरि खासगरी डान्सबार जस्ता क्षेत्रमा काम गर्न बाध्य पार्ने गरिएको बीबीसीले जनाएको छ ।