एनएमएको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङको उम्मेदवारी, पर्वतीय पर्यटनको दिगो भविष्यको प्रतिबद्धता

news-details

संखुवासभामा जन्मेका अनुभवी आरोही तथा पर्वतीय पर्यटनकर्मी टिकाराम गुरुङ नेपाल पर्वतारोहण संघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि उनी हिउँ, हावा र हिमालसँग लड्दै आएका छन्। तर उनको यात्रा केवल हिमालको उचाइ चुम्ने रोमाञ्चमा सीमित थिएन—यो संघर्ष, त्याग र अथक मेहनतको कथा हो। टिकारामका बाल्यकालका दिनहरू कष्टपूर्ण थिए। गाउँको साँघुरो बाटो हुँदै विद्यालय धाउँदा उनले आकाशमा देखिने सेताम्य हिमाललाई केवल टाढाको सपना ठानेका थिए। तर यही सपना पछि उनको जीवनको दिशानिर्देशक बन्यो।

युवावस्थामा पहिलो पटक हिमाल आरोहणमा निस्किँदा उनले तुफानी हावाको चीत्कार, हिउँको आँधी र मृत्युको साक्षात्कार गरेका थिए। एकपटक मनास्लु आरोहणको क्रममा साथीसँगको सम्पर्क टुट्दा उनले हिमालको छेउमा लामो समय एक्लै बिताउनुपर्‍यो। “त्यो क्षणले मलाई जीवनको नाजुकता र समयको मूल्य सिकायो,” उनी सम्झन्छन्, “र त्यस दिन मैले मन भित्रै वाचा गरेँ—यदि म बाँचेर फर्किएँ भने, यो क्षेत्रका लागि केही गर्नेछु।”

पूर्व कोषाध्यक्ष र सचिवको रूपमा संघको नेतृत्व गरिसकेका गुरुङले भूकम्प, हिमपहिरो र कोभिड–१९ जस्ता कठिन समयमा अग्रपंक्तिमा रहेर योगदान दिए। उनले आफ्नो उम्मेदवारीसँगै पर्वतारोहणको दिगो भविष्य निर्माणका लागि ठूला र ठोस योजना अघि सारेका छन्।

उनका प्रमुख एजेन्डामा आरोहीहरूको जीवन सुरक्षा र अवकाशपछिको सहजीकरण, दुर्घटनापछि शीघ्र उपचार र पुनर्स्थापना, आरोहीका बालबालिकालाई गुणस्तरीय शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पर्वतारोहण तालिम, दिगो र प्रभावकारी हिमाल सफाइ अभियान, सामाजिक सुरक्षाअन्तर्गत पेन्सन सुविधा, विदेश पलायन रोक्दै स्वदेशमै स्वरोजगार सिर्जना जस्ता मुद्दाहरू छन्।

साथै पोखराको अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय र ककनीको पर्वतारोहण केन्द्रलाई पर्यटकीय आकर्षणमा परिणत गर्ने, मनाङको पर्वतारोहण तालिम केन्द्रलाई विश्वस्तरीय बनाउने र संघका प्रत्येक सदस्यको संकटमा तत्काल सहयोग र सुरक्षा दिने योजना पनि उनले प्रस्तुत गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै गुरुङले भने, “हिमालले मलाई धैर्य, दृढता र सहकार्यको पाठ सिकाएको छ। अब त्यो अनुभव संघको नेतृत्वमार्फत लागू गर्ने समय आएको छ। म केवल पदको लागि होइन, सम्पूर्ण पर्वतीय पर्यटन समुदायको भविष्यका लागि यहाँ छु। हामी सबैको साझा प्रयासले मात्र हिमालको सम्मान र हाम्रो पेशाको मर्यादा सुरक्षित रहन्छ।”

आगामी २३ अगष्ट २०८२ मा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रमुख दाबेदार मानिएका गुरुङ कुल गुरुङ नेतृत्वको समूहबाट उम्मेदवार बनेका छन्। समर्थक र शुभचिन्तकलाई आह्वान गर्दै उनले थपे, “हाम्रो लक्ष्य केवल जीत होइन, दिगो नेतृत्वमार्फत पर्वतीय पर्यटनको उज्ज्वल भविष्य निर्माण गर्नु हो। तपाईंहरूको अमूल्य मत र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हुनेछ।”

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया