अब सामुदायिक र निजी विद्यालयमा २ वर्षे पूर्वप्राथमिक शिक्षा
- असार १३, २०८२
- 0
अब कक्षा १ भन्दाअघिको प्रारम्भिक बालविकास कक्षा (ईसीडी) २ वर्षको हुने भएको छ । शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ईसीडी कार्यक्रम दुवै प्रकारका विद्यालयमा २ वर्षको रहनेमा सांसदहरूले सहमति जुटाएका हुन् ।
शिक्षा विधेयकमा दलहरूबीच सहमति जुटेसँगै ईसीडी विद्यालय संरचनाभित्र समेटिएको छ । स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिने समितिले जनाएको छ ।
शुक्रबारको बैठकमा सांसदहरूले बालविकास क्षेत्र मानव जीवनको सबैभन्दा सुरुको चरण रहेको बताउँदै यसलाई विद्यालय शिक्षाभन्दा बाहिर राख्न नहुनेमा जोड दिएका थिए ।
यसअघि ईसीडी सञ्चालनमा सामुदायिक र निजी विद्यालयमा फरक–फरक अवधि राख्ने प्रस्ताव अघि सारिएको थियो । सामुदायिक विद्यालयले दुई वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको थियो। फरक–फरक अवधि हुँदा बालबालिकामाथि विभेद हुने तर्क सांसदहरूले गर्दै आएका थिए ।
हाल सामुदायिक विद्यालयमा १ वर्षे र निजीमा ३ देखि ४ वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ । उक्त विषयमा छलफल गर्न एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वमा बनेको उपसमितिले सामुदायिक र निजी दुवै विद्यालयमा ईसीडीलाई दुईवर्षे बनाउने सहमति गरी प्रतिवेदन पेस गरेको थियो ।











