ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा, यातायात संचालन गर्ने तयारी
- जेष्ठ ३१, २०८२
- 0

ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।
यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।
निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा.विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहिदिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।
यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।