एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे
- जेष्ठ ११, २०८२
- 0

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय दिन नसकेको बताएका छन् ।
आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनमन्त्री हुनुको नाताले कतिपय ठाउँका योजनाका मागहरु हेर्दा न्याय गर्न नसकिरहेको बताएका हुन् । उनले भने,‘फोटो प्रदर्शनीमा थुप्रै फोटोहरु देख्यौ । ति अद्वितीय ठाउँहरुमा हामीले केही न केही गर्नुपर्ने छ । राज्यले केही गर्नुपर्ने छ । तर यतिखेर हामीसँग साधन, स्रोतको अभाव छ । म पर्यटनमन्त्री हुनुको नाताले आएका मागहरु, योजनाका कुराहरु हेर्दा न्याय गर्न सकिरहेको छैनौं, जस्तो लाग्छ । अहिले फोटो हेर्दा मलाई भित्र भित्रै पोलिरहेको थियो ।’
उनले योजनामा धेरै कुरा छुटेको स्वीकार गर्दै त्यसको लागि एउटा मात्र मन्त्रालयले काम गर्न नसक्ने पनि बताए । उनले थप भने,‘यो ठाउँको लागि पनि यस पटक केही गर्न सकिनेवाला छैन् । यो पनि छुट्या छ त्यो पनि छुट्या छ भन्ने लागिरहेको थियो । त्यसैले राज्यले ती ठाउँहरुलाई न्याय गर्नुपर्ने छ । गन्तव्यहरुलाई सहज बनाइदिनुपर्ने छ । एउटा मात्र मन्त्रालयले चाहेर हुँदैन् ।
उनले नेपाल अद्वितीय ठाउँ भएको र यस्तो पृथ्वीमा अर्को ठाउँ नभएको भन्दै यसमा चिन्तन गर्नुपर्ने बताए । ‘नेपाल विशेष ठाउँ हो । नेपाल अद्वितीय ठाउँ हो, यस्तो पृथ्वीमा अर्को ठाउँ छैन् । यसको ब्रान्डिङ गर्ने, प्रचार गर्ने र उपयोग गर्ने सन्दर्भमा के गर्ने भनेर चिन्तन गर्नेपर्ने अवस्था छ,’ उनले भने ।