भिजिट भिसा प्रकरणमा गृहको प्रष्टिकरण : ‘हाम्रो कुनै संलग्नता छैन, छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौ’

भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु : गृहमन्त्री लेखक
news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ ।

मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।

‘मन्त्रालयको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न छैन र भविष्यमा पनि संलग्न हुने छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले सत्यतथ्य जानकारीका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न मिडिया हाउस र आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा मन्त्रालयले शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जानकारी दिएको छ । साथै, सबै प्रकारका अनियमितता तथा अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छानबिन भइरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानबिन प्रक्रियामा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यसैबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई–तीन दिन किन चुप लागेर बसेको थिएँ । यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ । अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु ।’

साथै उनले आफूले जीवनभरी पार्टीको टाउको निहुरिने काम नगर्ने बताए । उनले यस्ता विषयहरुमा कसैले पनि टाउको नदुखाउन आग्रह गरे ।

गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको आलोचना भइरहेको छ । मन्त्री लेखकको सचिवालयमा कार्यरत एक व्यक्तिमाथि फर्जी कागजात प्रयोग गरी भिजिट भिसामा मानव तस्करीको सेटिङ गरेको गम्भीर आरोप लागेको छ ।

७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो ।

अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग भट्टराइको नियमित सम्पर्क देखाएकाले यसमा गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *