काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी
- जेष्ठ १०, २०८२
- 0

आकांक्षा धामी/ उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् ।
काठमाडौं उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्णरूपमा बिग्रिएका छन् । पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ ।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत प्रणालीको समस्याका कारणले बिग्रिएका हुन् ।
‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ ।’
गिरीका अनुसार, काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन् ।
तीमध्ये काठमाडौंका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ । प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन् ।
उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरु विग्रिएका छन् भनेर जानकारी गराएका छौं । काठमाडौंमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन् । तर अन्य थुप्रै बिग्रिएका छन् । जसमा काठमाडौंको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन् । ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरु बाटो काट्ने ठाउँमा काठमाडौंमा चार ठाउँमा बिग्रिएको अवस्था छ ।’
ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए । ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ । घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ ।’
यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए । उनले कुनैबेला सवारी आवागमनको र मान्छेको चाप बढि भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन बढ्ने गरेको बताए ।
उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढि नै हुन्छ । जहाँ लाइटहरु बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय । लाइट बलिरहेको ठाउँमा जथाभाभी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ । तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहेको हुन्छ । तर कुनैबेला सवारी आवागमन र पैदलयात्रुको चाप बढि भएको बेला हातको इशाराले पुग्दैन । त्यो बेला पैदल यात्रीहरु बाटो काट्दै जान्छन् र दुर्घटनाको जोखिम बढ्छ ।’
उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औं शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ । यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लंघन प्रमाणित गर्न सीसीटीभीमार्फत सजिलो हुन्छ ।’
दैनिक २५ सय चालक कारवाहीमा !
यसैगरी ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लंघन गर्नेहरुमध्ये दैनिक करिब दुई हजारदेखि २५ सयजना चालक कारवाहीमा पर्ने गरेको बताए । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए ।
उनले भने, ‘ट्राफिक लाइटको उल्लंघन गर्ने दुई हजारदेखि २५ सयजना चालकहरु एकैदिन कारवाहीमा परिरहेका हुन्छन् । कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ । मादक पर्दाथ सेवन गरेर सवारी चलाउने एकसय जना कारवाहीमा परिरहेका हुन्छन्।’
यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागुपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए ।
प्रायः निकै ठूलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत संभार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन् ।
ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन् ।