काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा
- बैशाख २६, २०८२
- 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका हुन् । उनले भने, ‘एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम कास्मिरमा भएको आंतकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा निन्दा व्यक्त गर्दछ । आंतकवादले कसैको पनि हित गर्दैन । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको स्थिती देखिएको छ । आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्दछ ।’
साथै, उनले भारत–पाकिस्तानबीचको युद्धको स्थिती बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न समेत माग गरेका छन् । उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूलाई समेत उद्धार गर्न आग्रह गरे ।
उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिती बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु । यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस् ।’