सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन
- बैशाख २०, २०८२
- 0

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।
शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच शनिबार भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो ।
चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता आएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।
सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए ।