विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छ : देउवा
- बैशाख १८, २०८२
- 0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउनुपर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेसको जनसम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्र्थिक विकास गर्नको लागि राष्ट्रिय सहमति गराएरै नीतिगत परिवर्तन गर्ने विश्वास दिलाए ।
उनले भने,‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ निर्धक्क भन्नुहोस् । राष्ट्रिय सहमति गराएरै त्यसलाई पारित गराउँछौँ ।
विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्याहरु समाधान गर्ने प्रवासमा रहेका नेपालीहरूलाई अध्ययन रोजगारी र व्यवसायमा सघाउने राज्यका निकायहरूलाई परिचालन गराउने सबै क्रियाशील रहनेछु । विश्वको जुनसुकै मुलुकमा भएपनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था सिर्जना गर्नुहुनेमा म विश्वस्त छु ।’
त्यस्तै उनले विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीहरूप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।
उनले भने,‘तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्व दिएका छौँ । जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने कुरामा पनि प्रयास गरिरहेका छौं । लोकतन्त्रलाई बचाउन तपाईहरू जस्ता शिक्षित अनुभवीले परिस्थिति मिलाएर नेपाली काँग्रेसलाई पवित्र मन–वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रुपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउँदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’
सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एनआरएनए कार्डको व्यवस्थापन चाँडै हुने बताइन । उनले विभिन्न समयमा आएका अस्थायी सरकार गैरआवासीय नेपाली नागरिकता र कार्डका सवालमा काम गर्न नसकेको तर हालको सरकाले काम अघि बढाएको बताइन् ।