सरकार र शिक्षक महासंघबीचको वार्ता सकारात्मक
- बैशाख १६, २०८२
- 0

सरकार र प्रदर्शनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले आज सहमति हुन नसकेको हो ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’
उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।
महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे ।
विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।