एमालेले आज ‘युथ सेलिब्रेशन’ गर्दै, एक लाख युवा उतार्ने दाबी
- बैशाख ११, २०८२
- 0

नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ ।
कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् ।
जसअनुसार प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।
आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।
कार्यक्रममा आउनेहरूका लागि मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको जनाइएको छ ।