आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने, प्रदर्शन पनि जारी रहने
- चैत्र २८, २०८१
- 0

आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ।
शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो। छलफलका लागि मन्त्रालयले बोलाए पनि समय यकिन भइनसकेको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन्।
मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन्। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए।
शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा दीपक काफ्लेसहितको टिमले शिक्षक प्रतिनिधिहरुसँग छलफल गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।
सधैं आन्दोलनबाट निकास ननिस्कने भन्दै उनले उपयुक्त विकल्प खोजीका लागि मन्त्रालयले छलफल गर्न लागेको उनको भनाइ छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
आज पनि माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी रहने महासंघका अध्यक्ष सुवेदीले बताए।