मुख्यमन्त्रीको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट

news-details

उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ ।

होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार अनुगमन टोलीले होटल अनुगमनलाई निरन्तरता दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, घरेलु तथा साना उद्योग कार्यालय, जनकपुरधाम र जनकपुर उद्योग वाणिज्य संघका अधिकारी एवम् प्रतिनिधि सम्मिलित टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गराउन निर्देशन दिएको छ । दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय छन् ।

अनुगमन टोलीले विभिन्न होटलमा फेला परेका म्याद गुज्रिएका सामग्री नष्ट गरेको छ भने भान्साघरको सरसफाइ व्यवस्थापन गर्न होटल सञ्चालकहरूलाई निर्देशन दिएको छ ।

अनुगमन क्रममा ड्यु, स्लाइस, मिरिन्डा र सेवन अप जस्ता म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिए । उनले बिग्रेका मिठाई र अखाद्य तेल र डाल्डासमेत नष्ट गरिएको बताए ।

बिरामीहरूको निकै चाप रहने अस्पताल रोडमा होटलहरूलाई अखाद्य सामाग्री बिक्री नगर्न र भान्साघरलगायत सबै स्थानमा सरसफाइ गर्न तथा ग्राहकहरूसँग राम्रो व्यवहार गर्न अनुगमन टोलीले होटल सञ्चालकलाई निर्देशन दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *