देशभर स्ववियू चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

news-details

मनिषा बस्नेत/ राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ ।

यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरुले स्ववियू निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रुपमा हेरेका छन् ।

चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरु भइरहेका छन् । उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन् ।

मुख्यगरी काठमाडौंको प्रदर्शनी मार्ग, वागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरुको चहलपहल बाक्लो छ । यद्यपी, कतिपय ठूला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबिच मनमुटाव हुँदा निर्वाचन स्थगित समेत भएको छ ।

तथापी, निर्वाचन निश्चित भएका काठमाडौंका क्याम्पसमा चुनावी रौनक तिब्र देखिन्छ । उम्मेदवाहरु आफ्ना एजेन्डाहरु बोकेर विद्यार्थी माझ पुगिरहेका छन् ।

उपत्यका र उपत्यका वाहिरका केही क्याम्पसमा विवादका कारण तालाबन्दी र क्याम्पसमा तोडफोडले काठमाडौंका केही ठूला क्याम्पसमा चुनावी माहोल तातेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा निर्वाचन प्रक्रिया सहज रुपमा भइरहेको निर्वाचन समितिका संयोजक प्राध्यापक महेश भट्टराईले जानकारी दिए ।

आरआर क्याम्पसमा प्रत्यक्षमा ८ ओटा र समानुपातिकमा १० ओटा संगठन दर्ता भएको भन्दै उनले स्ववियु निर्देशिका २०८१ अनुसार प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

उनले आरआरमा चुनाव नहुने भन्ने भाष्य गलत भएको भन्दै चुनावका लागि विद्यार्थी र विद्यार्थी संगठनहरु उत्साही रहेको प्रतिक्रिया दिए ।

‘यहाँ ५१४६ जना मतदाताहरु छन् । यही आधारमा सात वटा बुथ निर्माण गर्दैछौ । त्यसका लागि सर्वदलीय, सर्वपक्षीय बैठक बसी छलफल गरिरहेका छौ । सबै विद्यार्थी र संगठनहरु बीच सहमति गरेका छौ । मतपत्र गणनाका आधारमा मतपत्र कति खस्छ, धेरै खसे ढिला होला थोरै खसे छिटै मत परिणाम ल्याउँछौ,’उनले भने ।

उनले सुरक्षा निकायहरुसँग प्रर्याप्त समन्वय गरेको जानकारी दिंदै भने, ‘हामीले यहाँको जिल्ला प्रशासन, प्रहरी, अनामनगरवृत्त, महानगरीय, सशस्त्रमा पनि निवेदन दिएका छौ । सुरक्षा व्यवस्थाको लागि निरन्तर सम्पर्कमा छौ । सुरक्षाकर्मीले सुरक्षाको कुनै कसुर छोडनुभएको छैन ।’

यस्तै, त्रिचन्द्र क्याम्पसका नेपाल स्वाभिमानी संघका स्ववियु सभापतिका उम्मेदवार विवेक वाँनियाले त्रिचन्द्र उजाड बन्दै गएको र विद्यार्थीहरुको संख्या घट्दै गएको अवस्थामा यसको विकासको लागि आफूले उम्मेदवारी दिएको सुनाए ।
उनले भने, ‘त्रिचन्द्रमा धेरै विषयहरु पढाइ हुन्छन् । जस्तै विसिए, विएस् सिआइटी जस्ता विषयहरु पढाइ हुन्छ । आइटी सम्बन्धि कोर्षहरु ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ । यहाँ पार्ट टाइमका शिक्षकहरु छन् उनीहरुलाई करार गराउने वा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका साथै यहाँ त्रैमासिक परीक्षा हुदैन । परीक्षा नहँुदा विद्यार्थीहरुलाई आफ्नो मुल्याकंन गर्न अप्ठारो भएको छ । आफू विजयी भए त्यसका लागि वातावरण बनाउँछु ।’

यस्तै अर्का सभापतिका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले पनि निर्वाचनको भव्य तयारी गरिरहेको बताए । उनले घण्टाघर र त्रिचन्द्र क्याम्पस जोड्ने पुल निर्माणको काम गर्ने योजना रहेको बताए ।
उनले भने, ‘त्रिचन्द्रमा क्यान्टिन, लाइवे्ररी, अनुसन्धान कक्षको व्यवस्थापन जरुरी छ । १०७ वर्षभन्दा पुरानो क्याम्पस क्याम्पस र घण्टाघरको सम्बन्ध हामीलाई थाहा छ । त्यसको लागि हामीले महानगरसँग प्रस्ताव भइसकेको छ । त्यो प्रस्तावलाई पारित गर्नेछौं ।’

यस्तै उनले त्रिचन्द्र क्याम्पस भग्नावशेस अवस्थामा पुगेको भन्दै राजनीतिक अस्थिरताले स्ववियु नहुँदा विद्यार्थीको मुद्दाहरु ओझेल परेको पनि बताए ।

यसैगरी, सयुंक्त अनेरास्ववियु प्यानलका सचिव सुमनकुमार पुलामीले विद्यार्थीहरुको मुद्दाहरुसँगै भुकम्पबाट जिर्ण बनेको क्याम्पस भवन निर्माणका लागि पहल गर्ने, बैंक काउन्टरको लागि काम गर्ने बताए ।

लामो समयपछि हुन लागेको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नका लागि त्रिबिले मतदान यही चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

हुनत स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनुपर्ने भएपनि अधिकांश क्याम्पसहरुका आफ्नो माउ पार्टीको उपस्थितिलाई प्रमुख ठानेका छन् । दलगत स्वार्थको अखडा बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । मुख्य राजनीतिक दलहरुले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरुलाई प्रयोग गरिरहेको कतिपय विद्यार्थीहरुको बुझाइ छ ।

निर्वाचन हुने अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरुले सत्ता र प्रतिपक्षमा रहेका पार्टीका भातृ संगठनहरुले अलग अलग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजनीतिक शक्ति मापनको केन्द्रका रुपमा क्याम्पसहरुलाई प्रयोग गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *