आइटी क्षेत्र रोजेका महिला भन्छन् : ‘आइटीबाटै लाखौं कमाउन सकिन्छ’
- फाल्गुन २४, २०८१
- 0

आकांक्षा धामी/ नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरु अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी विषय छात्राहरुको रोजाइमा पनि पर्न थालेको छ ।
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी(डीयरवाक कलेज)ले विभिन्न २९ कम्पनीको सहभागितामा नेपालकै ठूलो डीयरवक (डीडब्लु) आइटी फेयर २०२५ मा भेला भएका युवतीहरुले आइटी क्षेत्रमा भविश्य राम्रो रहेको सुनाए।
सिएसआइटीकी विद्यार्थी सदिक्षा घिमिरे आइटी पढिसकेपछि विश्वका जुनसुकै कुनामा गएर पनि काम गर्ने मौका पाइने भएकाले आफूले यही विषय रोजेको बताइन् । ‘म सानैदेखि कम्प्युटरमा खेल्न रुचाउँथे । विस्तारै यही क्षेत्रमा अभ्यस्त हुँदै गएँ । अहिले बुझ्दै जाँदा आफ्नो स्किल भयो भने यही क्षेत्रमार्फत नेपालभित्रै बसेर महिनाको लाखौं कमाउन सकिने रहेछ भन्ने लागिरहेको छ । वास्तवमा टेक्नोलोजीमा धेरै काम गर्ने अवसर मिल्ने रहेछ,’ उनले भनिन् ।
सिएसआइटीकी विद्यार्थी एन्सा भण्डारीले विश्व नै आइटीमा अगाडि बढिरहेको भन्दै आफुले आइटी विषय रोजेको बताइन । ‘मैंले सुरुमा ग्राफिक्स डिजाइनमा ध्यान दिन्थें । धेरै साथीहरुले नर्सिङ पढ्न रुचाउँथे तर मैले आइटी नै रोजें ।
अहिले सबै क्षेत्रमा महिलाको सहभागिता बढेको छ । महिलाहरु आइटी सेक्टरमा पनि धेरै नै एक्टिभ हुनुुहुन्छ । एआईदेखि सबै टुल्सहरु आइटी क्षेत्रकै प्रयोग भइरहेको छ । त्यसैले आइटी क्षेत्रमा साच्चै सिरियस भएर काम गर्ने हो भने महिनामा लाखौं रुपैंयाँ स्वदेशमै बसेर पनि कमाउन सकिन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।
सिफलमा रहेको डीयरवाक कलेजकी निर्देशक निजु दाहालले कलेज ग्राजुएटहरु रोजगारीका लागि आइटी पहिलो प्राथमिकता राख्ने गरेको सुनाउछिन् । हुनत आइटी क्षेत्रमा महिला र पुरुष भन्ने हुँदैन तर महिलाहरुको आकर्षण आइटीतिर बढ्दै गएको उनले बताइन् ।
‘आइटी क्षेत्रमा महिलाहरु र पुरुष भन्ने हुँदैन । जसले पनि यो पढ्न सक्छ । इच्छा चाहीं हुनुपर्यो । तर पहिले देखि नै पुरुषहरुले बढी आइटी अर्थात इन्जिनियरिङ सेक्टर रोज्ने गरेको पाइन्छ । महिलाहरु पढ्नै सक्दैन भन्ने भाष्य थियो । तर यो अहिले आएर परिवर्तन हुँदैछ । महिलाहरु पनि जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्छन् । आइटी कम्पनीहरुले पनि महिला कर्मचारीहरुलाई बढाउनका लागि धेरै कार्यक्रमहरु गरिरहनुभएको छ,’ उनले भनिन् ।
काठमाडौंको सिफलमा रहेको डीयरवाक कलेजले आइटी अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको आइटी फेयरमा पनि महिलाहरुको सहभागिता उल्लेख्य थियो ।
फेयरमा आइटी पढेर रोजगारीको खोजीमा रहेकादेखि पढ्दै गरेका विद्यार्थीसम्म सहभागी भए ।