आज दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुँदै
- फाल्गुन २२, २०८१
- 0

संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन् ।
यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।
यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।