राजदूत नेपालद्वारा स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश

news-details

स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।

त्यसअघि विशेष सुरक्षा सहित राजदूत नेपालले स्पेनको परराष्ट्र मन्त्रालयमा गएर स्पेनको परराष्ट्र मन्त्रालयमा दक्षिण तथा पूर्वी एसिया हेर्ने उप महानिर्देशक गिलेर्मो अंगिरासंग औपचारिक भेटघाट गरेका थिए ।

प्यालेस द सान्ता क्रुजमा स्पेनको रोयल गार्डले राजदूत नेपाललाई सम्मान गारद अर्पण गरेको थियो । उक्त अवसरमा नेपालको राष्ट्रिय गान पनि बजाइएको थियो ।

म्याड्रिडस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेनका नरेश तथा राजदूत नेपालबीच दुइ मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ ।

राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले युवा अवस्थामा पर्यटकको रुपमा नेपालको अनौपचारिक भ्रमणको सम्झना गरे । उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।

राजा फेलिपेले राजदूत नेपालको सफल कार्यकालको कामना गर्दै बितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएका थिए ।

राजदूत नेपालले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको असर बारे चर्चा गर्दै जलवायु परिवर्तनलगायतका समस्या संग जुध्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए ।

नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *