आजबाट एक महिने स्वस्थानी व्रत समापन
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/swasthani-samapan-.jpg)
आज माघ शुक्ल पूर्णिमा । आज एक महिना लामो श्रीस्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले बसेको एक महिने श्रीस्वस्थानीको व्रत आज समापन गर्न लागिएको हो ।
यो एक महिना पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरेर हरेक दिन मध्याह्नमा पार्वती र महादेवको पूजा गर्दै आएका भक्तजनहरुले आज व्रत समापन गरिरहेका हुन् । साथै यो एक महिना स्वस्थानी कथा भन्ने र सुन्ने गरिँदै आएकोमा त्यो पनि आजदेखि अन्त्य गरिन्छ ।
विधिपूर्वक एक महिना व्रत बसेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाएर व्रतको फल प्राप्त होस् भनी श्रीस्वस्थानी देवीलाई अर्घय दिइन्छ ।
ती चढाइएका प्रसादमध्ये सबैबाट आठ वटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएको खण्डमा नदीमा बगाउनुपर्ने विधि रहेको छ ।
श्रीस्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुने, रोग निको हुने र मन परेको व्यक्ति पति वा पत्नीका रुपमा प्राप्त हुने विश्वास रहेको छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराइआज मध्याह्नपछि विधिपूर्वक पूजा लगाएर व्रत समापन गरेर राती जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।
काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा रहेको शालीनदीमा पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण व्रत पनि आज समापन गरिँदैछ ।