वियोगीको ‘कालिञ्चोक’ सार्वजनिक

news-details

रामचन्द्र घिमिरे ‘वियोगी’ को ‘कालिञ्चोक’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालको सभाध्यक्षता र महेन्द्र संस्कृत विश्वविद्यालयका प्रथम शिक्षाध्यक्ष, न्याय तथा तन्त्र विद्याकेसरी एवम् तन्त्रविद्याशिरोमणि प्रा. विद्यानाथ उपाध्याय भट्टको प्रमुख आतिथ्यमा यही जेठ ३२ गते एक भव्य समारोहका बिच काठमाडौँको बागबजारमा अवस्थित पद्मकन्या क्याम्पसको डेनिस सभाकक्षमा उक्त महाकाव्य लोकार्पण गरिएको थियो ।

महाकाव्य सार्वजनिकीकरण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कूल सचिव तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल र छन्द कविताका अभियन्ता, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामप्रसाद ज्ञवालीको विशिष्ट अतिथिका रूपमा समुपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रा.डा. मोहन तिमल्सिनाले महाकाव्यकारको जीवनीमाथि प्रकाश पार्दै महाकाव्यकार घिमिरे संस्कृत विश्वविद्यालयबाट पौरस्त्य नव्यन्याय दर्शनमा आचार्य, त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर हुनुका साथै कानुन विषयमा समेत अब्बल सावित भई रामेछाप जिल्ला अदालतमा अभिवक्ताका रूपमा लामो समयसम्म वकालत पेसामा सक्रिय रहनुभएको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा.डा. लेखप्रसाद निरौला र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । त्यस्तै छन्द कविताका अभियन्ता, संस्कृत विश्वविद्यालयका प्रा.डा. देवी नेपालले महाकाव्यका श्लोक वाचन गर्नुका साथै कृतिको समीक्षा गरी कृतिको महत्त्व दर्साउनुभएको थियो ।

कार्यक्रममा युवा पुस्ताका सन्तोषी श्रेष्ठ र कौडिन्य पराजुलीले महाकाव्यको श्लोक वाचन गरेका थिए । लेखककी धर्मपत्नी भगवती घिमिरेको प्रकाशनमा सार्वजनिक भएको ‘कालिञ्चोक’ महाकाव्य धर्म, संस्कृति र प्रकृतिको त्रिवेणी बन्न सफल भएको विद्वान्हरूको अभिमत रहेको छ । यसअघि एक महाकाव्य र दुई खण्डकाव्यसहित छओटा काव्यकृति प्रकाशन गरिसकेका ‘वियोगी’ को ‘कालिञ्चोक’ सातौँ कृति हो । कालिञ्चोक देवीलाई नायिका बनाई लेखिएको यस महाकाव्यमा कालिञ्चोक देवीको उत्पत्तिको प्रसङ्गका साथै कालिञ्चोकको प्रकृति र इतिहास चित्रण गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *