अनुभूति : सार्वजनिक यातायात भित्रको त्यो यात्रा

news-details

काठमाडौँ रत्नपार्क आसपासको क्षेत्रमा यात्रु बसले यात्रु ओराल्ने र चढाउने मात्र ‘पिक एण्ड ड्रप’ को व्यवस्था लागु भएको छ २०७५ पुषदेखि । यो व्यवस्थाका कारण भृकुटीमण्डप क्षेत्रमा यात्रु बस रोक्न नपाएपछि बस चढ्न थप केही मिनेट हिँड्नु पर्नेमा म पनि परेको छु ।

गाडि पर्खेर बसुन्जेल क्षमता भन्दा ज्यादा वायु प्रदुषण भोग गर्नु त छँदैछ ध्वनी प्रदुषण पनि मज्जैले उपभोग गर्न बाध्य भइन्छ । एकातिर सडकबाट सवारी साधनका घ्यारघ्यार र हर्नको तमासा अर्कोतिर काठमाडौँ मल अगाडि टहरा र फुटपाथबाट रेकर्डेड र लाइभ स्वरहरू ‘पाँचसयमा दुइटा, चार सयमा जोडि, सातसयमा एउटा’ निरन्तर……ठोक्किइरहन्छ कानमा

गाडिको असंख्य र भद्रगोल आगमनमा आफू चढ्ने माइक्रो बस चिन्नै मुस्किल हुन्छ, सबै उस्तै लाग्छन् । अझ साझा जस्ता ठूला बसले छलेर माइक्रो त देख्नै मुस्किल हुन्छ । कपनको ज्योतिनगर जाने माइक्रो पहेँलो अक्षरले लेखिएको हुँदा झुक्किने सम्भावना रहँदैन टाढैबाट पढ्न नसकेपनि । निकैबेर अनेकन प्रदुषण झेलेपछि ज्योतिनगर जाने २७ नम्बरको माइक्रो हाजिर भयो । दौडेर गएँ ढोकामा ।

गाडि खालि गरेर सबै यात्रु झरे । म अन्तिमको सिटमा बसेँ । लामो वा छोटो अरु यात्रामा अन्तिम सिटमा बस्नु अभिशाप लाग्छ । टिकट काट्दा पहिलो सर्त नै अगाडिको सिट हुन्छ मेरो । तर यहाँ उल्टो छ । यात्रुको थिचोमिचोबाट बच्न अरु यात्रु जस्तै मपनि अन्तिमकै सिटमा बस्छु । सँगै एउटा ठिटो पनि बस्यो ।

‘पिक एण्ड ड्रप’ त भन्नु मात्रै पिक एण्ड वेट भइरहन्छ । यात्रु बोलाउँदै कुरिरहन्छन् सवारी साधनहरू । क्रमशः माइक्रो भरिँदै गयो । दुईटी किशोरी हान्निएर पछाडि आए ।

भित्तातिरको ठाउँ छोडिदिएँ कोल्टो परेर । एउटी लुरि चाहिँ कुनैमा गई । अर्की मेरै छेउमा बसी ।

निलो पाइण्ट निलै कोट र मफलर पहिरेका कुनै कलेजका विद्यार्थी थिए, खैरो झोला समेत भिरेका ।

कपनको निखिलेश्वरलाई लक्ष्य गरेर माइक्रोबस अघि बढ्यो ।

गफको उद्घाटन गरे किशोरीले । कुनातिरकी लुरिले स्कुल पढ्दाताकाको केटा साथीको कुराबाट पोको खोली ।

‘त्यसको त ७ कक्षामा एउटा गर्लफ्रेण्ड ८ मा ब्रेकअप, ८ मा एउटी नौमा ब्रेकअप, नौमा अर्की १० मा ब्रेकअप….।’
अनि हाँसे दुबै गलल ।

समयान्तर मात्र होइन शहरीय हावा पनि होला यसरी सार्वजनिक रुपमै आफ्ना र अरुका माया प्रेम खोतल्न र पोख्न सकेका ।

तिनले मेरो समयलाई निम्ता गरेझैँ लाग्छ । बीस वर्षअघि पनि कुरा चैँ हुन्थे प्रेमका तर आफूमा मात्र, अरुले नसुन्नेगरी गोप्य हुन्थे । समयले भत्कायो कि स्वतन्त्रताले । गोप्यताको बार भत्किएको छ अचेल ।

मलाई थाहा छ झापाको कन्काई माविमा कक्षा नौमा पढ्दा एउटा साथीले केटीका कुरा गर्दा मलाई अचम्म लागेको थियो । लजाएको थिएँ म उसका कुराले ।

उसबेला प्रेम गर्नेहरूले नेपालीमा ‘प्रेमी’ ‘प्रेमिका’ र अंग्रेजीमा ‘लभर’ भन्थे । गर्लफ्रेण्ड र ब्वाई फ्रेण्ड भन्ने थाहा थिएन । बैसठी सालपछि काठमाडौँ आएर थाहा पाएको हुँ मैँले यो ‘फ्रेण्ड’ संस्कृति ।

ती गफिएकै छन् आपसमा । न तिनको अरुतिर ध्यान छ न मेरो । माइक्रोमा कति भिडभाड भयो । के के गतिविधी भइरहेछ खासै चासो छैन । तिनकै गफमा कान थापेको छु । तिनका कुरैले प्रष्ट हुन्छ तिनीहरू स्कुल फरकफरक र कलेज एउटै पढेका हुन् । र कलेजमा यसरी गफिने मौका पाएका छैनन् र मौकाको खेति गरिरहेका छन् गाडिभित्र ।

धेरैजसो गफ लुरीले मोटीलाई सुनाएकी छे । मोटी होमा हो मिलाउँछे र हाँस्छे । उ नहाँसेका बेला लुरिले नै हाँस्न प्रेरित गर्छे ‘ओई हाँसन’ अनि उ बनावटी हाँस्छे  ।
एक छिन ती फिल्म समिक्षामा पनि उत्रिए ।

आजकल त फिल्म हेर्नै मन लाग्दैन ।

किन नि ।

उही हिरो–हिरोनी । फाइट । प्रेम–बिछोड । धनी–गरिब । हार–जीत । दिक्क लाग्छ ।

‘मलाई पनि त्यस्तै लाग्छ’ तर चिन्नु न जान्नु घचेटी माग्नु भनेर बोलिन म । फेरि सबै फिल्म त्यस्तै खाले पनि त छैनन् ।

फिल्मबाट फिल्म जस्तै कहानीमै ओर्लिए फेरि ती ।

ओइ हेरन नाइन क्लासमा त स्कुलमै किस ।

आबुई होर !

हो त नि ।

सरले कि केटाहरूले ? मोटी जिज्ञासु भई । उमेरै हो जिज्ञासु हुने ।

सरले नि, क्लास रुममै ।

हो र तिमीहरू हेरिरह्यौ ?

टिफिन टाइममा खाजा खार आउँदा सर त व्यस्त, काखमै राखेर । हामी त फरक्कै फर्केको ।

उनरले तिमरलाई देखेनन् ।

अँ ह । हामी पनि दुईजना मात्रै थियौँ । अरुले देखेको भए पुरै विज्ञापन हुन्थ्यो । हामी त चुप ।
अनि त्यो केटीलाई जिस्क्याएनौ त ?

कोही नभको बेला कतिकति । थुप्रैपटक त्यसको खाजा फ्रिमा खाइयो ।

अनि सरलाई नि ।

छि : त्यसलाई देख्दै हाँसो लाग्थ्यो । किन हाँसेका भनेर मस्क्न्थ्यिो नि ।

लुरीको कहानी साँचो कही कि बनावटी त्यही जानोस् । मोटी र मैँले खुब चाख मानेका थियौँ ।

धुम्बाराहीको पिपलबोटमा गाडि रोकियो । मोटी झरी, लुरी एक्लै परी । म पनि हिस्स परेँ । बल्ल अगाडितिर गयो मेरो ध्यान । सधैँझैँ कोचाकोच थियो गाडि ।
एउटी २५ वर्षे तरुनी आमा र नौ वर्ष जतिकी छोरी थिए मेरै आँखा अगाडि ।

अगाडि चालकछेउबाट दुई वर्षभन्दा कम उमेरको नानी रोएको सुनिँदैछ । देखिएको छैन । ममी चाहिँले अगाडि कसैलाई बोक्न दिईन् । उनी खाँदिएर पछाडि आइन् । नानीले ममी देखेन र रोयो ।

बिचरा शिशु किन नरोओस् । मलाई थाहा छ आठ वर्षजतिको हुँदो हुँ भिडभाडबीचबाट आमा गाडि चढिहाल्नु भो म रोएको थिएँ छुटुँला कि भनेर ।

मेरो पुरानो याद भङ्ग ग¥यो ती तरुनी आमाको चर्को स्वरमा बजेको मोबाइलको रिङ टोनले ।

हातैमा बोकेको मोबाइलको स्क्रिनमा हेरिन् । मैँले पनि हेरेँ । ‘माइ होम’ थियो उताबाट डायल गर्नेको नाम ।

घरबाट आयो फोन । उ बोली

कसले गरेछ त ? सोधी छोरीले ।

तेरा बाउले । जवाफ दिई ।

बोली सुन्दा तिनीहरू शहरीया भइनसकेका जस्ता लाग्थे ।

छोरीले प्रतिक्रिया जनाई । किन बौलाएका त ।

ममीले फोन रिसिभ गरी र जवाफ दिई – ‘हामी आउँदैछौँ ।’

नौ वर्षकी छोरी र २५ की आमा दुबै रातो कुर्तामा सजिएर ओठमा रातै लिपिस्टिक पोतेका दुवै चुप भए ।

मेरो सिटकी लुरी मण्डिखाटारमा झरी । सिटमा अरु नै कोही बस्यो ।

निखिलेश्वर महादेवका अगाडि लगेर भारी बिसायो गाडिले । सबैभन्दा सुरुमा चढेको म बोराको फेदको चामल अन्तिममा निकालिएझैँ खन्याइएँँ, र २० को नोट दिएर हिडेँ ।

माघ ९ गते झरी परेकोले जाडो त थियो नै कच्ची बाटो हिलो समेत थियो । हिलो छल्दै रुद्रमति खोला (धोवी खोला)को किनारैकिनार उँभोलाग्दै गर्दा दुईजना परिचित वर्मेली ठिटा भेटिए ।
कता हिँड्यौ त । सोधेँ मैँले ।

‘जाउँ पानी पुडि खाने के लिए’ मुस्कान सहित आधा नेपाली र आधा हिन्दीमा मेरो प्रश्नको जवाफ र अनुरोध एकसाथ बोल्यो सलिमले ।

केहि दिनदेखि शरणार्थी रोहिंग्यासँग मित्रता बन्दैछ मेरो । माया लाग्दा ठिटाहरूको कथा व्यथाले खुब पोलेको छ मन । कहिले पाउलान् तिनले देश फर्किन र परिवार भेट्न ।
पछि खाउँला ल । यत्ति भनेर हात मात्र मिलाएँ र अघि बढेँ । ती लागे पानीपुरी खान ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *