कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षपछि नेपाल र रोमानीयाबीच श्रम सम्झौतामा हस्ताक्षर
- रोजगारमञ्च
- अशोज १९, २०८०
- 0
यूरोपियन मुलुक रोमानियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ बर्ष पछि दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
युरोपियन मुलुकमा वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उदेश्यका साथ शुक्रवार दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालको तर्फबाट श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाको तर्फबाट श्रम तथा सामाजिक एकता मन्त्री सिमोना बुकुरा ओप्रेस्कुबीच शुक्रवार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको जानकारी मन्त्रालयले दिएको छ ।
नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, रोमानीयाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागीत रहेको र रोमानीया पक्षबाट श्रम सँग सम्बन्धित विभिन्न निकायका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको जनाइएको छ ।
द्विपक्षीय समझदारीमा हस्ताक्षरपछि श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका वारेमा प्रस्तुत गरेका थिए । रोमानीया पक्षबाट नेपाली कामदारको हक,हित सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार लाने प्रकृयामा समन्वय र सहकार्य गर्न चासो व्यक्त गरेका थिए ।
यूरोपेली मुलुक, रोमानीया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहेको र श्रम बजारको फराकिलो संभावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ ।
भेटवार्ताको क्रममा नेपालमा छिट्टै रोमानीयाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयमा नेपाली श्रमिकहरुका लागि संभावित सिपयुक्त श्रम वजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्ने चाहाना रोमानीया पक्षबाट प्रस्तुत गरिएको थियो ।
दोहोरो कारार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सिप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमती कायम भएको जानकारी दिइएको छ ।
नेपाली कामदारहरुको कार्य स्वभाव, इमान्दारीता, लगनशिलताले रोजगारदाताको विश्वास आर्जन गर्न सकेकोले नेपालबाट कामदार छोटो समयमा रोमानीया ल्याउने कानूनी प्रावधान तथा व्यवस्थापनका वारेमा छलफल भएको छ । कामदारको सामाजिक सुरक्षाको हकमा रोमानीयमा कार्यरत रहेका कुनै पनि आप्रवासीकामदारहरुले रोमानीयाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउदै दुबै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्न प्रतिवद्वता जनाएका छन् ।