नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्ष भित्र सञ्चालनमा ल्याउँछौं : मन्त्री ज्वाला
- साउन २, २०८०
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2023/07/Jwala.jpg)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन ।
मंगलबार उच्च अधिकारीसहितको टोलीले सहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन । उनले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिव एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताए ।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास रहेको बताए । उनले देशकै संघीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले नेपालमा पहिलो नमूना प्रयोगको रुपमा यातायात सुरुङ मार्गको रुपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
उनले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवात जावातको लागि सहजता हुने बताए । उनले नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी गरेको बताए ।
मन्त्री ज्वालाले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने बताए । उनले टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने बताए ।
मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताए ।
२.६८ किलोमिटर लम्बाई रहेको सुरुङ मार्गको ९ मिटर चौडाइको मुख्य टनेल र ४ मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ ।