साउदी अरवमा कामदार हुँदै सफल व्यवसायी बनेका कुवेर हुँमागाई
- फाल्गुन २०, २०७९
- 0
खाडी मुलुकमा नेपालीहरु श्रमिककारुपमा मात्र परिचित छैनन् । केही नेपालीहरु त्यहाँ सफल व्यवसायी पनि बनिरहेका छन् ।
सामान्य कामदारकारुपमा खाडी छिरेर त्यही संघर्ष र मिहनेत गरेर व्यवसायमा हात हाल्ने नेपालीको संख्या पनि बढ्दै जान थालेको छ । ठूलो क्षेत्रफल रहेको साउदी अरवमा ४ लाख नेपालीको भीडमा व्यवसायीको परिचय बनाउने नेपाली पनि छन् । त्यस्तै एक उदयीमान व्यवसायीको परिचय बनाएका नेपाली हुन् : काभ्रेका कुबेर हुँमागाई ।
पनौति नगरपालिका ८ काभ्रेपलाञ्चोकका हुमागाई साउदी अरबको दम्माममा व्यवसाय गर्दै आइरहेका छन् । सन् २००० मा वर्किङ भिसामा साउदी अरव छिरेका हुमागाईले आफ्नो मेहनेत, इमान्दारिता र हिम्मत बटुलेर कर्मभूमीमा नै व्यवसायमा हात हाले । समयचक्रसँगै उनले आफ्नो अनुभवलाई उद्यमशिलतामा लगानी गरेर सफलता हाँसिल गरेका हुन ।
साउदीको पूर्वीक्षेत्र दम्माममा खेलौनाहरुको होलसेल व्यवसाय गरिरहेका हुमागाई पहिलादेखि नै व्यापार व्यवसायमा चासो राख्ने गर्दथे । नेपालमा हुँदा नै व्यवसायको स्वाद चाखेका हुमागाई साउदी पुगेपछि त्यही अनुसारको काम पाउँदा व्यवसायमा हात हाल्न थप आत्मविश्वास पलायो ।
‘सेल्समेनमा काम गर्दा एउटा खेलौना पसलमा काम गरिसकेपछि अनुभव पनि भयो र हिम्मत पनि आयो । मैले पनि यो व्यवसाय गर्न सक्छु भन्ने आत्मविश्वास आएपछि व्यवसाय सुरु गरे अहिले म सन्तुष्ट छु’ हुमागाई भन्छन् ।
साउदी अरवमा अधिकांश नेपालीहरु कामदारका रुपमा प्रवेश गरेका छन् । धेरै नेपालीहरु व्यवसायमा प्रवेश गरेका छैनन् । हुमागाईले आफ्ना सहयात्री नेपाली व्यवसायी राजु सैयद, जोन अर्यालसँग दम्माममा आफ्नो व्यवसायीक यात्रा तय गरेका हुन् । उनीहरु सामाजिक कार्यदेखि पारिवारिक जमघट तथा नेपाली समुदायमा सँगसगै पुगिरहेका हुन्छन् ।
साउदी अरवमा कामदार भिसामा गएर नै विभिन्न पेशा तथा व्यवसायमा प्रवेश गर्न पाइन्छ । साउदीमा नेपालीहरु हस्पिटालिटी, रेष्टुरेन्ट, रिटेल तथा होलसेल पसललगायतका क्षेत्रमा व्यवसाय गरिरहेको हुमागाईको भनाई छ । उनी भन्छन्–‘साउदीमा करिब ४ लाख नेपालीहरु छौ । हामी नेपालीहरुमा ९९ प्रतिशत कामदार भिसामै आएर यहाँ विभिन्न पेसा व्यवसायमा आवद्ध छौं, अहिले नेपालीहरु क्याफेमा, हस्पिटलालिटी सेक्टरमा कार्यरत छन् ।’
आफ्नो व्यवसायमा सन्तुष्ट रहेका हुमागाई व्यवसायको साथसाथै सामाजिक कार्यमा पनि सक्रिय छन् । नेपाली समुदायमा लोकप्रिय हुमागाई हरेक नेपालीको सुखदुःखको साथी बनेका छन् ।
परिवारका साथमा साउदीमा नै बसिरहेका हुमागाई नेपालमा नै लगानी गरेर व्यवसाय गर्ने सोचमा पनि रहेका छन् । नेपालमा राम्रो लगानीको वातावरण बन्ने हो भने आफ्नै देशमा केही गर्ने चाहना उनको छ ।
धेरै नेपालीलाई रोजगार प्रदान गरिरहेको साउदी अरवको विकासलाई नजिकबाट नियालिरहेका हुमागाई आफ्नो देशमा पनि चाँडै विकासले फड्को मारेको हेर्न चाहन्छन् ।
एउटा कामदारका रुपमा साउदी छिरेका हुमागाईजस्ता धेरै नेपाली स्वदेशमा नै योगदान दिन चाहिरहेका छन् । उनीहरुजस्ता हजारौ नेपालीको सीप, पूँजी र अनुभवलाई अव नेपालमा लगाउन ढिला गर्नु हुँदैन, अनि मात्र सम्बृद्ध नेपालको सोच पुरा हुने पक्का छ ।