साउदीको ‘भिजन २०२०–२०३०’ परियोजना सम्वन्धी वृत्तचित्र प्रदर्शन
- मंसिर २५, २०७९
- 0
नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँगको सहकार्यमा शनिबार ‘भिजन २०२०–२०३०’ वृत्तचित्र प्रदर्शन गरेको छ ।
कार्यक्रममा खाडी मुलुकको प्रमुख रोजगार गन्तव्य साउदी अरेबियाले पर्यटन, सेवा, डिजिटल तथा अन्य गैर पेट्रोलियम गतिविधिका माध्यमबाट रोजगारीको सिर्जना र अर्थतन्त्रको विकास रणनीति ‘भिजन २०२०–२०३०’ र उक्त मुलुकमा कार्यरत नेपाली कामदारको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको हो ।
‘भिजन २०२०–२०३०’ परियोजना सम्वन्धी वृत्तचित्र प्रदर्शन कार्यक्रममा खाडी मुलुकहरूसँग आर्थिक क्षेत्रका विविध पक्षमा सहकार्य अघि बढाउन सकिने उल्लेख गरिदै नेपाल र खाडी मुलुकबीच रोजगारी, पर्यटन, व्यापारलगायतका क्षेत्रमा सहकार्यमा गर्न सकिनेमा जोड दिइएको थियो ।
नेपाली कामदार जाने मुस्लिम बाहुल्यता भएका खाडी मुलुकहरू क्रमशः परम्परागत शैलीबाट तिव्रताका साथ आधुनिकीकरणतर्फ अग्रसर भएको र त्यसबाट लाभ लिन नेपालले आर्थिक, सामाजिक तथा कुटनैतिक पहललाई एकीकृत र सघनरूपमा अघि बढाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल र साउदी अरबलगायत खाडी मुलुकका सांस्कृतिक तथा भौगोलिक विविधता फरक–फरक रहेकोले पर्यटन प्रवर्द्धनका लागि साझा अवधारणाको विकास, नेपालको शुद्ध र खनिजयुक्त मिनिरल वाटरमा खाडी मुलुकहरूको लगानीमा जोड दिइन् ।
उनले साउदी अरबमा नेपाली कामदार विश्वसनीय जनशक्तिको पहिचान कायम गर्न सफल भएकोले श्रम सम्झौताको माध्यमबाट उनीहरूको पहिचान तथा सीप र प्रविधिको विकासमा ध्यान दिन जरुरी रहेको बताइन् ।
सो अवसरमा कन्सुलर विभागका महानिर्देशक धनबहादुर ओलीले साउदी अरबले अघि बढाएको भिजन २०२०–२०३० ले त्यस क्षेत्रमा पर्यावरणीय दीगो विकासको ऐतिहासिक लक्ष्य राखेकाले त्यसमा नेपाल सरकार र जनस्तरबाट सहकार्य हुन सक्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले ४ लाख भन्दा बढी नेपाली रहेको साउदी अरेबियासँग श्रम सम्झौताका लागि विभिन्न चरणमा छलफल भइरहेको भन्दै निकट भविष्यमा श्रम सम्झौताको अपेक्षा गरिएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका सहसंयोजक प्रेम कटुवालले १५ मार्च १९७७ मा कुटनैतिक सम्बन्ध कायम भएपछि नेपाल र साउदी अरेबियाबीच मित्रताको सौहार्द सम्बन्ध विकास भएको बताए । करिब ५ लाख नेपाली रोजगारीमा रहेको र जनस्तरबाट पनि विकास भइरहेको सम्बन्धलाई सन् २०१३ मा नेपाल सरकारको अनुरोधमा साउदी अरेबियाको राजदूतावास नेपालमा स्थापना भएपछि आपसी सम्बन्ध थप मजबुत भएको भन्दै सहसंयोजक कटुवालले द्विपक्षीय भ्रमण, व्यापार, लगानी, हजयात्रा र रोजगारीका क्षेत्रमा भइरहेको विस्तारले सम्बन्धलाई थप कसिलो बनाएको उल्लेख गरे ।
साउदी अरबले पेट्रोलियम पदार्थ बाहेकको आर्थिक विकासका लागि अघि सारेको भिजन २०२०–२०३० को परियोजनामा नेपालसहितका मित्र राष्ट्रहरूले सहकार्य गर्ने विश्वास व्यक्त गर्दै सहसंयोजक कटुवालले नेपालले उक्त परियोजनामा दक्ष कामदार पठाएर आफ्नो अर्थतन्त्रमा लाभ लिनसक्ने अवस्था रहेको बताए ।
द्विपक्षीय सम्झौता कार्यान्वयनका माध्यमबाट रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली कामदारको संख्यामा वृद्वि हुने र नेपालमा साउदी अरेबियाको लगानीमा वृद्धि हुने अवस्था समेत रहेको भन्दै सहसंयोजक कटुवालले साउदी अरब तथा नेपाल दुबैतर्फ लगानीको सहज बाताबरण बन्नु आवश्यक रहेको औंल्याए ।
संघका संयोजक विमल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साउदी अरब र कतारका राजदूत तथा यूएई र इजिप्टका कार्यवाहक राजदूतहरूका साथै वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति रहेको थियो ।