प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र शिफारिस, आजैबाट पदबाहर सम्हाले
- भदौ २५, २०७५
- 0
काठमाडौं / ओमप्रकाश मिश्रले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पद सम्हालेका छन् । सोमबार बेलुका साढे ६ बजे सर्वोच्च अदालत पुगेर उनको पदबहाली भएको हो । मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा स्वागत गरेका थिए ।
आज सोमबार नै सुनुवाई समितिबाट अनुमोदन भएका मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पद तथा गोपनीयताको शपथ लिएर उनी सर्वोच्च अदालत रामशाहपथ पुगी पदभार सम्हालेका हुन् । मिश्रलाई प्रधानन्यायाधीशमा स्वागत गरेका न्यायाधीश दीपकराज जोशी भने सोही पदमा अस्वीकृत भएका थिए ।
मिश्रले कामु प्रधानन्यायाधीशका रुपमा गत साउन २० गतेदेखि काम शुरु गरेका थिए । प्रधानन्यायाधीशका रुपमा उनले पाँच महीना काम गर्नेछन्। आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण अवकाश लिनेछन् । उनको अवकाशपछि वरिष्ठतम न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउने छ ।