भाषा परीक्षा उत्तीर्ण गरी रोकिएका युवालाई कोरिया लैजाने कोरियाली राजदूतको आश्वासन

news-details

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकीले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका नेपाली श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका छन ।

अर्थमन्त्री जनार्दन शर्मासँग भएको शिष्टाचार भेटमा राजदूत सुकीले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिदै भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका नेपाली श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाउने आश्वासन दिएका हुन ।

बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन ।

“इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु” मन्त्री शर्माले भने ।

जवाफमा राजदुत सुकीले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदुत सुकीले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन ।

भेटमा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास पनि व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।

मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए ।

भेटको क्रममा राजदुत सुकीले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखेका थिए । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।
यस विषयमा मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *