मौद्रिक नीतिमा चेम्बरको ३७ बुँदे सुझाव सुझाव : बैंक ब्याजको ५० प्रतिशत सरकारले अनुदान दिनुपर्छ

news-details

नेपाल चेम्बर अफ कमर्सले आगामी वर्षको मौद्रिक नीतिमा कोभिड–१९ महामारीको चपेटामा परेको निजी क्षेत्रको आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट ३७ बुँदे सुझाव दिनुभएको हो । चेम्बरले लामो निषेधाज्ञाले आय आर्जन गर्न नसकेका बहुसंख्यक नागरिकहरूको क्रयशक्तिमा कमि आएकाले पूर्ण रूपले विस्तारित मौद्रिक नीतिको आवश्यकता औँल्याएको छ ।

महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमबाट नराम्रोसँग प्रभावित भएको अर्थतन्त्रको पुनरुत्थानमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने चेम्बरको माग छ । चेम्बरले औपचारिक अर्थतन्त्रलाई भी–सेपमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ ।

त्यसैगरी मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि समयमै निर्देशिका, नियमावली र पुनर्कर्जा वितरण कार्यविधिलाई सरल र सहज बनाउनुपर्ने तर्फ पनि चेम्बरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । अध्यक्ष मल्लले कोभिडले भविष्यमा पार्न सक्ने प्रभावको पूर्व अनुमान गरेर सो अवधिभरका लागि बैंक ब्याजमा ५०५ व्यवसायीले र ५० प्रतिशत सरकारले अनुदान दिने गरी व्यवस्था मिलाउनुपर्ने सुझाव आफूहरूले दिएको बताउनुभयो ।

चालु उद्योग व्यवसायीका ऋणीलाई थप धितो नराखी ऋणको २५ प्रतिशत थप उपलब्ध गराउनुपर्ने, २०७८ चैत्र मसान्त सम्म विनाजरिवाना ब्याज बुझाउन सक्ने व्यवस्था मिलाउनुपर्ने, २०७९ कुनै पनि ऋणीको धितो लिलाम गर्न नपाइने, बैंक तथा वित्तीय संस्थाको आधार मूल्यमा अधिकतम प्रतिशतको मापदण्ड तोकेर प्रिमियम थप गर्ने व्यवस्था गर्नुपर्ने, कर्जा अवधिभर प्रिमियम स्थिर हुनु पर्ने, १० लाख रुपैयाँसम्म नगद कारोबार ओसार–पोसार गर्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव चेम्बरले दिएको छ ।

चेम्बरको सुझाव बुझ्दै गभर्नर अधिकारीले विषम् परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सके मात्र अर्थतन्त्र दीगो हुने भए पनि आर्थिक वर्षको सुरुवातको पूर्वसन्धामा वित्तीय क्षेत्रमा देखिएको तलरताले चुनौती थपेको बताउनुभयो । यद्यपि सुझावहरूलाई ध्यानमा राखेर मुलुकको अर्थतन्त्रलाई सक्दो टेवा पुग्ने गरी नीति ल्याउने आश्वासन दिनुभएको चेम्बरका अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

त्यसैगरी, लिमिटेड कम्पनीको हकमा व्यक्तिगत ग्यारेन्टी लिने व्यवस्था खारेज गरी घर–जग्गा व्यवसायको लागि कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कको कम्तीमा ७० प्रतिशत कर्जा पाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि चेम्बरले दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *