‘बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि ल्याइएका हौ’-अर्थमन्त्री पौडेल
- जेष्ठ १६, २०७८
- 0
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताउनु भएको छ ।
‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो’ अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भन्नु भयो -‘बजेटप्रति जवाफदेही छौं ।’
अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान अनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गर्नुभयो । उहाँले कुनै ठाउँमा बसेर केही नेताले बक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले संविधान अनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको स्पष्ट पार्नुभयो ।
कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उहाँले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने जानकारी दिनुभयो ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताउनुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताउनुभयो ।