कतारमा ‘जीटुजी’ मार्फत नेपाली श्रमिक पठाउन खोजिरहेका छौं –मन्त्री चौधरी

परिमार्जित अभिमूखिकरण तालिम पाठ्यक्रम चैत्र १ देखि कार्यान्वयनमा
news-details

नेपाल सरकारले प्रमुख रोजगार गन्तब्य कतारमा सरकारी प्रकृया मार्फत नै कामदार पठाउने गृहकार्य थालेको  छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कतारमा जिटुजी मार्फत श्रमिक पठाउन छलफल थालेको बताए ।

कतारमा सरकारी स्तरबाट नै सुरक्षागार्डमा नेपाली कामदारको माग आएको हुँदा सरकारी प्रकृया (जीटुजी) मार्फत पठाउने विषयमा कतारसँग छलफल भएको मन्त्री चौधरीले जानकारी दिए । ‘यस विषयमा मैले कतारका लागि नेपाली राजदूतसँग छलफल गरिसकेको छु, कतार सकारात्मक छ ’ मन्त्री चौधरीले भने–‘ निश्चित क्षेत्रका लागि जीटुजी मार्फत कामदार पठाइनेछ ।’

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटवल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्डमा सरकारी संयन्त्र मार्फत नै श्रमिक पठाउन खोजिएको उनको भनाई थियो ।

कतारलगायतका देशमा जीटुजी मार्फत कामदार पठाउँदा मेनपावर व्यवसायीबाट विरोध आउन सक्ने बताउँदै मन्त्री चौधरीले मेनपावर व्यवसायीको आवाजलाई पनि सरकारले सुन्ने बताए । ‘व्यवसायीको समस्यामा सरकार जानकार छ, हामी छलफल गरेर समाधान गर्ने छौ’ मन्त्री चौधरीले भने ।

वैदेशिक रोजगार बोर्डले आयोजना गरेको ‘परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिमको पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आवद्ध प्रशिक्षकहरुका लागि आयोजित पुनर्ताजगी तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम’मा बोल्दै मन्त्री चौधरीले कतारलगायत अन्य देशमा जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकार लागिरहेको बताए ।

यसैगरी मन्त्री चौधरीले जापान, इजरायमा पनि सरकारी संयन्त्र मार्फत नै श्रमिक पठाउने सम्वन्धि सहमति भइसकेको भएपनि त्यसलाई कार्यान्वयन गर्न कार्यविधिको अभाव रहेको बताए । विगत एक बर्षदेखि कार्यविधि बनाउने विषय थाँती रहेको भन्दै आफूले त्यसलाई अगाडी बढाएको उनले बताए ।

मन्त्री चौधरीले ठगी गर्ने मेनपावरलाई ‘अन द स्पट’ कारवाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको जानकारी गराएका छन् । उनले भने–‘ विभागलाई मेनपावरमा छापा मार्न मन्त्रीलाई सोध्नु पर्ने झुटा हल्ला बाहिर सुनेको छु तर मैले ठगी गर्ने मेनपावरलाई अन द स्पट कारवाही गर्न निर्देशन दिएको छु ।’

मेनपावरले १० हजारको रसिद दिएर लाखौ उठाउने र ठगी गर्ने कार्य गर्नु हुँदैन, यदि त्यस्तो पाइयो भने तत्काल कारवाही गर्न निर्देशन दिइसकेको मन्त्रीको भनाई छ ।
मन्त्री चौधरीले विदेश जाने कामदारका लागि अभिमूखिकरण तालिम अत्यावश्यक छ भनेर प्रशिक्षकहरुलाई पुर्नताजकी तालिम प्रदान गरिएको जनाउँदै सरकार विदेश जाने कामदारलाई धेरैभन्दा धेरै प्रशिक्षण गराएर पठाएमा मात्र समस्या आउँदै भन्नेमा विश्वास राख्ने बताए ।

मन्त्री चौधरीले भने–‘ विदेश जानेलाई १८ घण्टाको मात्र नभई अझै समय बढाउन सकिन्छ, तर यदि समस्या तथा दुर्घटना कम हुन थालेमा समय घटाउन पनि सकिन्छ ।’
कार्यक्रममा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले नयाँ पाठ्यक्रमलाई कडाईका साथ लागु गरिने र अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले विसं २०७० देखि नै पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी र समयानुकुल बनाउनु पर्ने आवाज उठिरहेको भन्दै बोर्डले झण्डै साढे एक बर्षको समयावधि लगाएर पाठ्यक्रम परिमार्जन, देशगत म्यानुअल लगायत तयार पारेको जानकारी दिए ।

पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी बनाउन बोर्डले आवश्यक पाठ्य सामग्रीहरु उपलव्ध गराउने लगायतका सहयोग गर्ने भन्दै तालिमलाई अझ गुणस्तरीय बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै अभिमुखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले नयाँ पाठ्यक्रमले वर्तमान माग सम्वोधन गरेको र समयानुकुल बनाइएको भएपनि दुई दिनको तालिममा शुल्कको विषयमा आफूहरु सन्तुष्ट नरहेको बताए । न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाई रहेको भन्दै उनले अभिमुखिकरण प्रदान गर्ने संस्थाहरुको समस्या पनि सम्वोधन गरिनुपर्ने माग गरे ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरे, परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङलगायतले पूर्वप्रस्थान तालिम प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा ६ दिनसम्म चलेको समूहगत २ दिने पुनर्ताजगी तालिम लिएका देशभरका प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

परिमार्जित अभिमूखिकरण तालिम पाठ्यक्रम चैत्र १ देखि कार्यान्वयनमा

परिमार्जित पूर्वप्रस्थान अभिमूखिकरण तालिम पाठ्यक्रम आगामी चैत्र १ गतेबाट कार्यान्वयनमा आउने भएको छ । नयाँ पाठ्यक्रमका विषयमा देशभरका प्रशिक्षकलाई पुनर्ताजगी तालिम दिदै चैत्र १ देखि नयाँ पाठ्क्रम अनुसार पढाउन निर्देशन दिइएको छ ।

वैदेशिक रोजगार वोर्डको गत मंशीर १० गतेको वैठकबाट परिमार्जित पाठ्यक्रम स्वीकृत भएपछि कार्यान्वयनमा गएको हो । नयाँ पाठ्यक्रम अनुसार अभिमूखिकरण तालिम समसामयिक र थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । तालिममा ६० प्रतिशत श्रब्यदृष्य सामाग्रीमार्फत प्रशिक्षण गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *