नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल
- पुस १०, २०७७
- 0
नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।
उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिकको मद्दत पाएपछि सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको छ ।
सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको हो ।
सो स्थानवाट सेनाले विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ । कारवाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ ।
आगामी आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व शुरु भएको हो ।
सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि निर्वाचन अनिश्चित बन्दै गएको छ । विद्रोही समूहले मुलुकको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण शुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।