मानव बेचबिखनको समस्या गहिरिदै गएको सरोकारवालाको ठहर
- पुस ३, २०७७
- 0
सरोकारवालाहरुले राज्यका निकायहरुको प्रभावकारीताको अभावले मानव बेचबिखनको समस्या गहिरिएको बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनाको सहकार्यमा शुक्रवार गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले विश्वका विभिन्न भागमा रहेर मानव तस्करी गर्ने गिरोहहरु संगठित रुपमा रहेका तर उनीहरुलाई नियन्त्रण गर्ने राज्यका निकायहरुमा साधन श्रोत र इच्छाशक्तिको अभाव रहेको बताए ।
नेपालमा प्रत्येक वर्ष लाखौको संख्यामा युवायुवतीहरु श्रम बजारमा आउने गरेका छन् । तर स्वदेशमा रोजगारी नपाउने गरेका कारण उनीहरुलाई मानव तस्करहरुले आकर्षक बैदेशिक रोजगारको प्रलोभनमा ट्रयापमा पारेर बेचविखनको चक्रमा पु¥याउने गरेको उनीहरुको भनाई छ ।
कार्यक्रममा आप्रवासी महिलाको क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था एट्वीनकी बेनुमाया गुरुङले खुला सिमानाका कारण नेपालबाट वैदेशिक रोजगारका नाममा सहज रुपमा मानव तस्करी भईरहेको भन्दै पछिल्ला दिनमा मानव तस्करी तराईका जिल्लाहरुमा केन्द्रित भएको बताइन ।
मानव तस्करीको अँध्यारो पाटोलाई चिर्न केही नीतिगत र व्यवहारिक सुधार आवश्यक गर्नुपर्ने भन्दै उनले कोभिड–१९ पछि युरोपलगायतका देशको आकर्षक रोजगारीको प्रलोभन देखाएर मानव बेचविखन भईरहेको भन्दै त्यसमा सबै सचेत हुनुपर्ने धारणा राखिन । नेपाली युवायुवतीहरु रोजगारीको नाममा वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिएर वा केही भिजिट भिसामा विदेश जाने गरेकोले त्यसमा कडाई गर्न सकिए मानव तस्करीलाई रोक्न सहज हुने उनको भनाई छ ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका सहप्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले ब्युरो गठनपछि हालसम्म ब्यूरोले ३ जना र महानगरिय प्रहरी परिसरले ९९ गरी १ सय ४ जना विरुद्ध मुद्धा चलाएर नियन्त्रणको उच्चतम प्रयास गरेको बताए ।
उनले व्युरोले मात्रै ५२ जनालाई संगठित मानव तस्करीमा संलग्न भएको प्रमाणका आधारमा पक्राउ गरेको जानकारी दिदै पुरुषहरुमात्र नभई मानव तस्करीमा महिलाहरुको पनि भूमिका देखिएको भन्दै मानव तस्करीमा संगठित स्वरूप मूल समस्या रहेको बताए । दलालले आकर्षक तत्वको लोभ देखाएर अवैधानिक रुपमा भारतमासमेत लगेर अलपत्र पार्ने र पैसा लिएर फरार हुने घटना बढेको भन्दै उनले दलालहरु महिलालाई मलेसिया, कुवेत, लेवनान, साउदी अरब, ओमान, युरोप, दक्षिण अफिकालगायत देशमा लगेर अलपत्र र सस्तो मूल्यमा श्रम शोषणदेखि यौन शोषण गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएकोे बताए ।
द्विबेदीले भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउदै त्यस्ता गिरोहमाथि निगरानी बढाएपनि मानव तस्करीको धन्दा नरोकिएको बताए ।
नेपालबाट भारत जाने ठाउँमा २४० चेकपोष्ट भए पनि झुक्काएर कुनै माध्यमबाट छिर्ने गरेको पाइएको र २०७५ साल चैत्र ७ गतेदेखि २०७७ असारसम्म २३४ महिला र ६६ पुरुष गरी तीनसय जनाको उद्वार गरेको द्विबेदीले बताए । उनले भारत, कुवेत, किर्गिस्तान, इराक, लिबिया, ग्रिस, केन्या, इन्डोनेसिया, मालवि, म्यानमारलगायत मुलुकबाट ती नेपाललीको उद्वार गरिएको जनाए ।
पिपुल्स फोरमका कार्यकारी निर्देशक अधिवक्ता सोम लुइृटेलले मानव तस्करी रोक्न सरकारका सबै निकायहरुले एकीकृत योजनाका साथ काम गर्नु पर्ने अवस्था भएपनि त्यो हुन नसकेको बताए ।
कार्यक्रममा कान्तिपुर दैनिकका पत्रकार जनकराज सापकोटालले नेपालबाट हुने मानव तस्करी र मानव बेचबिखन जोखिम बढाउने पक्षहरु समेटेर कार्यपत्र पेश गरेका थिए ।