महासंघका नवनिर्वाचित पदाधिकारीलाई वैदेशिक रोजगार व्यवसायी संघको सम्मान

news-details

नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीलाई वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बधाई एवं शुभकामना ज्ञापन गर्दै सम्मान गरेको छ ।

काठमाडौको अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा संघले महासंघका अध्यक्ष शेखर गोल्छासहित गत ५४ औ साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा निर्वाचित दिनेश श्रेष्ठ, एशोसिएट्स उपाध्यक्षमा निर्वाचित रामचन्द्र संघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचनलगायतका पदाधिकारीहरुलाई संघका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य महेन्द्र शेरचनले प्रमानपत्र तथा खादा ओडाएर सम्मान गरेका हुन ।

उक्त कार्यक्रममा संघले वैदेशिक रोजगार व्यवसायी संघकोतर्फबाट पहिलो पटक महासंघको कार्यसमिति सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेलाई पनि सम्मान गरेको छ । संघका अध्यक्ष गैरे बस्तुगत समूहबाट केन्द्रीय कार्यकारी सदस्यमा निर्वाचित भएका हुन ।

सम्मान कार्यक्रममा बोल्दै बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो स्थापनाको झण्डै ३ दशक लामो इतिहासमा पहिलो पटक महासंघका पदाधिकारीलाई सम्मान गरेकोमा खुसी लागेको बताए । उनले निर्वाचनपछि सबै व्यवसायी एक भएको टिप्पणी गर्दै महासंघको सदस्यमा संघकोतर्फबाट जुझारु व्यक्तित्व पठाएकोमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायप्रिति आभार प्रकट गरे ।

उनले वैदेशिक रोजगार व्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोण अझै राम्रो नहुनु दुःखद पक्ष रहेको भन्दै वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रेमिट्यान्स भित्र्याउने व्यवसायीलाई सरकारले समान ढंगले हेर्नुपर्ने बताउँदै यसका लागि अब महासंघले पहल गर्ने बताए । यस्तै उनले कामदार तथा व्यवसायीको हकहित हुनेगरी समय सान्र्दभिक ऐन संशोधन र नीति निर्माणमा महासंघ हातेमालो गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

सम्मान कार्यक्रममा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विगतदेखि नै आफुले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या बारे आवाज उठाएको स्मरण गर्दै आज व्यवसायी संघले सम्मान गर्दा भावविहोर महसुस भएको बताए ।

देशको बेरोजगारी समस्या समाधानदेखि लिएर रेमिट्यान्स भित्राउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ भन्नेमा आफु विगतदेखिनै प्रतिवद्ध रहेको भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसायीका हरेक समस्या समाधानमा आफु सँगसँगै रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले आफुहरु निर्वाचनमा कुनै पनि राजनैतिक एजेण्डा लिएर नगएको र निर्वाचन पछि पनि सबै व्यवसायीहरुको एउटै एजेण्डा नीजि क्षेत्रको समस्या समाधान रहेकोले अब प्यानलगतरुपमा नहेर्न अनुरोध गरे ।

उनले नेपालमा वैदेशिक रोजगारको सुरुवात पछि देशको आर्थिक व्यवस्थामा आएको आमूल परिवर्तनको चर्चा गर्दै रेमिट्यान्स र वैदेशिक रोजगार व्यवसायको क्षेत्र कति महत्वपूर्ण छ भन्ने यसैले पुष्टि गरेको बताए । अध्यक्ष गोल्छाले महासंघको कार्यकारी सदस्यमा यसपटक वैदेशिक रोजगार व्यवसायी संघबाट पनि प्रतिनिधीत्व भएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रको समस्या समाधानमा महासंघ संघसँग सहकार्य गरेर अघि बढने बताए ।

अध्यक्ष गोल्छाले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या समाधानका लागि महासंघले वैदेशिक रोजगार फोरम बनाउने र त्यसको अध्यक्षताको जिम्मेवारी संघको तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरैलाई दिइने घोषणासमेत गरे ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा महासंघको बस्तुगत समूहबाट कार्यकारी सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेले पहिलो पटक संघलाई महासंघको कार्यसमितिमा प्रतिनिधित्व गराउन मतदान गर्ने सम्पूर्ण वस्तुगत संघलाई आभार प्रकट गरे ।

उनले सबै वस्तुगत संघको समस्या समाधानमा आफु प्रतिवद्ध भएर लाग्ने बताउदै विशेषगरी बस्तुगततर्फ पनि वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या थप जटिल रहेको र राज्यले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तनमा महासंघले भूमिका खेल्नेमा आफु आशावादी रहेको बताए । यसअघि पनि वैदेशिक रोजगार क्षेत्रको समस्या समाधानमा संघले पटक पटक सरकारलाई घचघचाए पनि सरकारले त्यसलाई वेवास्था गरेकोमा अब महासंघकोतर्फबाट सरकारसँग यस क्षेत्रको समस्या समाधानको पहल थालिने गैरेले बताए ।

संघका प्रथम उपाध्यक्ष कमल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव सुजित कुमार श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, राजनैतिक आस्थावान संस्थाका प्रतिनिधीहरु, वरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरु तथा उल्लेख्य संख्यामा वैदेशिक रोजगार व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *