मध्यपूर्व श्रमसम्बन्धमा मात्र सीमित रहनेछैन : परराष्ट्र मन्त्री ज्ञवाली
एनआरएनको सातौ मध्यपूर्व क्षेत्रीय बैठक शुरु
- अशोज ३०, २०७७
- 0
गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठक शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका छन् ।
‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एबम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ मूख्य नारा रहेको बैठकले मध्यपुर्वमा कार्यरत नेपाली कामदारहरुको समस्या, समाधान र मध्यपुर्वको देशहरुसंग कुटनैतिक सम्बन्ध, कोरोना भाइरसका कारण मध्यपुर्वबाट नेपाल फर्किएका युवाहरुको ब्यबस्थापन पक्षमा नेपाल सरकार र गैरआवसिय नेपाली संघले खेल्नुपर्ने भुमिका र ब्यबस्थाबारे छलफल हुने जनाइएको छ ।
बैठकलार्ई संवोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मध्यपूर्व प्रमुख श्रम गन्तब्यमा मात्र सीमित नराख्ने बताएका छन् । उनले भने–‘ नेपाल र मिडिलइष्टको सम्बन्ध श्रमसम्बन्धमा मात्र सीमित रहनेछैन, अव बिस्तृतिकरण गर्दै लैजाने छौ ।’
मन्त्री ज्ञवालीले श्रमसम्बन्धलाई बदलेर पर्यटन, लगानी तथा निर्यातमा बिस्तार गर्न कुटनैतिक पहल थालिसकिएको बताए । मध्यपूर्वमा रहेका झण्डै १५ लाख नेपालीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको हुँदा मध्यपूर्वलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेर हेरेको मन्त्री ज्ञवालीको भनाई छ ।
कोरोना महामारीबाट मध्यपूर्वमा रहेका नेपालीहरुले रोजगार गुमाउनु परेको छ यस अवस्थामा मध्यपूर्वका देश तथा त्यहाँका सरकार, नेपाली दूतावास र एनआरएनले खेलेको महत्वपूर्ण भूमि प्रति मन्त्री ज्ञवालीले प्रसंसा गरे । नेपाल सरकारले पनि समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सफल भएको र अव स्वदेशमा नै रोजगार सृजना गर्न लागि रहेको बताए ।
मध्यपूर्वमा रहेका नयाँ नयाँ प्रविधिले कसरी उत्पादन क्षेत्र तथा कृषिमा काम गरिरहेका छन् त्यहाँ सिकेको सीप र ज्ञानलाई स्वदेशमा लगाउन मध्यपूर्व वैठक सफल हुन नसकोस् भनेर कामना गरे । नेपाल सरकारले बाध्यतात्मक वैदेशिक रोजगारलाई आगामी केही बर्षमा अन्त्य गर्न लागेको मन्त्री ज्ञवालीले बताए ।
मध्यपूर्व बैठकले त्यहाँ रहेका १५ लाख नेपाली र स्वदेशमा फर्किएका नेपालीहरुका लागि ठोस निष्कर्ष निकालोस् भन्दै मन्त्री ज्ञवालीले बैठकको पूर्ण सफलताको कामना गरे ।
मध्यपुर्व संयोजक प्रविण गुरुङको सभापतित्वमा चलिरहेको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, मध्यपुर्वका सबै देशहरुका राजदूत, एनआरएनका संस्थापक तथा पदाधिकारीको उपस्थिति रहेको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अतिथ्यतामा कतारको दोहाबाट अनलाईन प्रविधिको प्रयोग गरी वैठक चलिरहेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको विचमा आयोजना भईरहेको यो भेलामा विगत देखि नै उठान गरिदै आएको मध्यपूर्व क्षेत्रका नेपालीहरुका क्षेत्रीय मुद्दाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदान, कोभिड प्रकोपसँग जुध्न यस क्षेत्रका एनसीसीहरुले खेलेको भूमिकाको समिक्षा हुने संयोजक गुरुङको भनाई छ ।
कोभिड १९ को कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असर गरेपछि घरफिर्ती, रोजगारी र पुनएकीकरणमा वैठक केन्द्रित रहने संयोजक गुरुङ बताउँछन् ।