साहित्य : लक डाउन र ‘नारी’ !
- असार ६, २०७७
- 0
‘कुहु !’ ‘कुहु !’ घर नजिकैको रुखबाट सधैं झैँ बिहान पख कोहिलीको मधुर स्वर सङ्गै सरीताको निन्द्रा खुल्छ । ब्युझिँने बित्तिकै उस्को आँखा भित्ताको घडी कि त सिरानीको मोबाईलमा पर्छ । ऊनी जुरुक्क उठेर हात मुख धोई केही समय एक्सर्साइज गर्छिन् । एक्सर्साइज गरि सक्दा नसक्दा बुढा भएका सासू ससुराको औषधि खाने बेला भै सकेको हुन्छ र उनी उहाँहरुको लागि चिया सङ्गै बिस्कुट तयार गर्छिन् र अनि मात्र हातमा कुचो बोकेर बिहानको बढाँरकुढाँरमा लाग्छिन् ।
बढाँरकुढाँर सकिएपछी पुजाआजा गर्न बस्छिन् । पुजा सक्काए पछि छोराछोरी र बुढालाई उठाउछिन् । सबैलाई सबैभन्दा पहिले एक गिलास तातो पानी खान दिन्छिन् । कोरोनाको डर बढ्दै गएकोले आधी-आधी घन्टामा वा केही चिज छुने बित्तीकै साबुनले हात धुने । तातो पानी पिइरहने कुरा पनि सुनाउछिन् सिकाउछिन् । चिया पकाएर सबै सङ्गै बसेर चिया पिउँछिन् । यत्तिकैमा बिहानको आठ बजिसकेको हुन्छ । अधघपछि भएको भए बच्चाहरूलाई स्कुल पठाउन हत्तार हतार हुने बेला सम्झिन्छिन् । सासू ससुरालाई दस बज्दा खाना खाइ सक्नुपर्छ किनकी उहाँहरुको सुगरको औषधि खानु पर्छ । हत्तार हतार गर्दै खाना पकाईन् । सबैलाई खुवाईन् र आफूले पनि खाईन् ।
बिहानको खाना खाए पछि कोठाहरु मिलाइन् । सफा गरिन् । यत्ति काम गरि सक्दा फेरि अब बच्चाहरुको अनलाइन क्लासको लागि शिक्षक भएर अनि शिष्य भएर सङ्गै सिकाउन बसिन् । श्रीमानलाई भने केही मतलब छैन् । मोबाईल हेर्यो बस्यो । यसैगरी बित्दै छ रे आजभोलि धेरैका दिनहरु।
धुन थुपारेको लुगा बाटामा भिजाएकी छन् धुन भने भ्याएकी छैनन् । भर्खरै मिलाएको ओछ्यान र कोठा बच्चाहरुले उस्तै भताङभुतुङ्ग पारिसकेका छन् ।बच्चाहरुको अनलाइन क्लास सक्किनसक्दा बच्चाहरु ‘मामु भोक लाग्यो’ भन्न थाले । भित्ताको घडीतिर आँखा पुर्याउदा दिउँसोको एक बजिसकेको छ । बिहान जुरुक्क उठेपछि एक छिन बस्न पाएकी छैनन् सरीताले ।
खाजा बनाउन हत्तार भैसक्यो उनिलाई । बच्चाहरुलाई एक एक पुरिया बिस्कुट दिएर उनीहरुको भोक शान्त बनाउदै सासू ससुराको औषधि खानु पर्ने बेला पनि दिउँसो दुई बजे आसपासमा भएकोले ऊनी पहिले सासू ससुराको लागि खाजा बनाउन लागिन् । सासू ससुरा लकडाउन भए पनि घर बाहिर गैरहनु हुन्छ।उहाँहरुलाई फोन गरेर खाजा खान बोलाउनुपर्छ । घर बस्दा गर्मी हुन्छ रे भनेर नजिकैको चौतारो तिर जानू हुन्छ ।
बुवा आमा केही बेर पछि आइपुग्नु भयो र खाजा खानु भयो । सरीता सासू ससुरालाई ‘बाहिर गइरहनु हुन्न झन तपाईंहरु रोगी हुनुहुन्छ ! झन धेरै सचेत हुनुपर्छ ! बेला बेला हात पनि धोईरहनु पर्छ ! भनेर बेला बेला सम्झाई रहन्छिन् । बुढा बुढी मान्छेलाई यसरी घर बाहिर नजानु भनेर घरीघरी सम्झाउदा रिस गरेको जस्तो लाग्दो रहेछ क्यारे ! दुबैजना ठुस्स परेर केही बेर केही नबोली बस्नु भयो ।
त्यसै कारणले पनि होला आज भोलि पहिले झैँ खुलेर सरिता सङ्ग बोल्नु हुन्न ! केही बेर पछि सासू आमा ‘थाहा छ हामिलाई पनि तिमिले सिकाइ रहनु पर्दैन !’ भन्दै फेरि बाहिर निस्किनु भयो । सरीतालाई बडो नमज्जा लाग्यो । अरुको परिवारमा त सामिप्यता छाएको भन्छन् तर आफ्नो घरमा झन पारीवारीक दुरी टाढा भए जस्तो महसुस गर्छिन् तर उहाँहरुप्रति सधै निष्ठावान छिन् ।
अरुको लागि अझै खाजा बनाउन बाँकी छ र भिजाएको एक बाटा लुगा पनि धुनु छ । बच्चाहरु टिभीमा, सासुससुरा बाहिर चोकतिर,श्रीमान बिहानबाट मोबाईलमा । सरीता भने सधैं झैँ घर धन्दामा । उनी रिसले मुर्मुरिदै घरको काम नगर्नेलाई पो दिन काट्न गार्हो भएको छ त यो लक डाउनमाू मनमनै भन्दै रिसाउदै मोबाईल खेलाउदै गरेको श्रीमानलाई कराउँदै भनिन् ‘केही काम सघाउन त सकिन्छ नि ! म मात्र कता कता भ्याउने ?’ श्रीमानले अलि नम्र भएर भने ‘भन न सहयोग त गरि हाल्छु नि !’ सरीता रिसाउदै नजिकैको सोफामा बसेर पुनः भन्छिन् ‘मुखले मात्र ठीक्क पारेर हुन्छ ! घर बसेको यत्रो दिन भैसक्यो । कति खेर के काम गर्ने रहेछ भन्ने थाहा हुन्न ! खाना खान बोलाउनु पर्ने ! खाजा खान बोलाउनु पर्ने ! आफैं आउन पनि सकिन्छ नि !’ श्रीमान मुस्कुराउदै चुप बसे ।
बच्चाहरूलाई कोठा बिगारेको भनेर गाली गर्न मन लागेर पनि त्यो मासुम अनुहारको अगाडि केही भन्न सकिनन् । बिचरा !! बच्चाहरूलाई दिन कटाउने मेलो पनि यहि त छ आखिर । श्रीमानलाई खाजा बनाउन लगाउदै उनी धुन भिजाएको एक बाटा लुगा तिर लागीन् । लुगा धोईसक्दा श्रीमानले खाजा तयार गरिदिनु भएकोले सरीताको अघिको श्रीमानसङ्गको रीस मरेर गयो ।
दिउँसोको चार बजिसक्यो ! उनिहरुले छोराछोरीसङ्गै बसेर खाजा खाए । चार बजे सधैं झैँ दिनको एक पटक धारामा पानी आउने हुँदा खाजा खाने बित्तिकै गाग्री माझेर पानी थाप्न धारामा पुगिन् । खाजा खाए पछि पुन भान्सा सफा गरिन् । भाडा कुडा माझिन् र बेलुकाको लागि तरकारी केलाउन बसिन् । तरकारी केलाए पछि एकछिन मोबाईल हेर्दै के बसेको थिइन् । नजिकै बाट सासुको चर्को बोली आइपुग्यो ।’कति मोबाईल हेर्छन् यिनिहरु त्यो माथी कौसीमा यो बट्टाहरुमा माटो भरेर लसुन, धनिया, खुर्सानी, तोरी लगाए पनि हुने !’
भर्खरै हेरेको मोबाईल बन्द गरिन् सासू आमा फेरि रिसाउलान भन्ने डरले । सरीता र उनको श्रीमान भएर बट्टामा माटो भरी सासू आमाले ठिक्क पार्नुभएको बिऊ रोप्ने काम गरे । झमक्क साँझ परिसकेको छ । सरीता हस्याङ्फस्याङ गर्दै हात खुट्टा धोएर साँझको बत्ती बालेर बेलुकाको खाना बनाउन लागिन् । केही बेरमा सासू ससुराको लागि ढिडो र अरुलाइ खाना तयार भयो । सबैले खाएर धन्दा सक्दा बेलुकाको साढे नौ भैसकेको छ ।
उनी हरेक दिन आजभोलि काम सक्काएर कोठामा आउदा पनि आनन्द महसुस गर्छिन् किनकि यो लकडाउनले झन धेरै ब्यस्त भएकि छिन् । अब एकछिन ओछ्यानमा पल्टेर फेसबूक हेर्छिन् जहाँ साथीहरु, आफन्तहरुले भने सरीताले आज भोलि फोन गर्न छोडेको भनेर गुनासो गरेको मेसेजहरु देख्छिन् । ‘आफ्नो कथा आफैं सङ्ग छ’ भन्दै जवाफ नदिई मोबाईल बन्द गर्दै सिरानी माथी मोबाईल राख्छिन् ।
नजिकैको कोठाबाट ससुरा खोकी रहनु भएको सुन्दा मनमा अनेकौं कुराहरु खेलेर सरीतालाई निन्द्रा नै लागेन् । ‘थकित शरीरमा नकारात्मक कुराहरु त निन्द्राको सत्रु नै हुन नि’ ! आफैँले आफैँलाइ भन्दै थिइन् । छोराछोरी र श्रीमान भने घुर्न थालिसकेका थिए । निन्द्रा नलागेको कारण उनले एक देखि सय सम्मको अङ्कहरुलाई उल्टो गन्ती गर्न थालिन् । कत्ती खेर आँखा लागेछ पत्तो भएन र सरिता मस्त निदाइन ।